दुबईमा पाँच नेपालीले जिते २० करोड रुपैयाँको चिठ्ठा

Published On: In Category: विदेश खबर

यूएई । वैदेशिक रोजगारीका शिलशिलामा दुबई आएका नेपाल पाँच जनाले यूएईको ‘बिग टिकट’ भाग्यशाली चिठ्ठामा झण्डै बीस करोड नेपाली रुपैयाँ प्राप्त गरेका छन् ।

बिग टिकट किन्ने अन्तिम दिन मार्च ३१ तारिक लिइएको ४५८८७ नम्बरको भाग्यशाली टिकटमा ७ मिलियन दिराम्स अर्थात २० करोड नेपाली रुपैयाँ भाग्यशाली चिठा दार्जिलिङकी सुनयना राईको नाममा परेको हो ।

काठमाडौंका सुनील लामासहित झापाकी उशा थापा मगर, आशा थापा मगर र मिना राई मिलेर किनेको टिकटमा यो पुरस्कार परेको हो । पाँच जना नेपाली मिलेर ५ सय दिराम्समा चिठ्ठा किनेका थिए ।

प्राप्त रकम प्रतिव्यक्ति चार-चार करोड नेपाली रुपैयाँ प्रतिव्यक्ति भाग लगाउने राईले बताएकी छिन् । राईले भने केही रकम च्यारिटीमा खर्च गर्ने बताएकी छिन् ।

अन्यले भने मिडियामा आउन चाहेका छैनन् ।

केही रकम च्यारिटीमा खर्च गर्छु: राई

मेरो नाम सुनयना राई हो । मेरो घर दार्जीलिङको सिंहामारी भन्ने ठाउँमा हो । म आज भन्दा ४ वर्षअघि अर्थात् २६ मार्च २०१२ मा युएई आएकी हुँ । युएईको अबुधाबीस्थित स्वीस अरेबियन पर्फ्यूम कम्पनीमा सेल्स प्रमोटरको रुपमा काम गर्दै आइरहेकी छु ।

SUNAINA-RAIम आफू दार्जिलिङको भए पनि किन किन खै नेपालको पनि उत्तिकै माया लाग्छ । त्यही भएर होला मसँग नेपालका साथीहरु धेरै छन् । उनीहरुसँग म धेरै नजिकको जस्तो महसुस गर्छु । यहाँ मेरो रूम पार्टनर पनि नेपाली दिदीबहिनीहरु नै हुनुहुन्छ । नेपालको बारेमा त त्यति जान्दिनँ तर, झापा हुँदै काठमाडौं चाँहि पुगेको छु । नेपाल सुन्दर लाग्छ ।

मेरो घरमा बुबा, आमा, दाइ र भाउजु हुनुहुन्छ । म घरकी कान्छी छोरी हुँ । दिदीको केही वर्ष पहिले नै विवाह भइसक्यो । कान्छी छोरी हुनाले प्राय सबैले माया गर्नुहुन्छ । दाइको गत जनवरी महिनामा मात्र विवाह भएको हो । म उहाँको विवाहको लागि घर गएर भर्खरै आएको हुँ । हामी मध्यम वर्गीय परिवारका हौं । आर्थिक अवस्था ठिकै छ ।

हामी साथीहरु मिली कहिलेकाही बिग टिकट भाग्यचिठ्ठा किन्छौं । यसअघि पनि किनेका थियौं तर। परेन । यसपालि चाहिँ सबै साथीहरुले मेरो नामबाट किन्न अनुरोध गरे । ५०० दिराम्म मूल्यको टिकट म एक्लैले किन्न सक्ने कुरा भएन । त्यसैले हामी ५ जना साथीहरु मिलेर यो चिठ्ठा किनेका थियौं । हामी ५ जनामा सुनील लामा दाइ काठमाडौंको हुनुहुन्छ । अन्य साथीहरु उशा थापा मगर, आशा थापा मगर र मिना राई चाँही झापाको हुनुहुन्छ ।

बिग टिकट किन्ने अन्तिम दिन थियो मार्च ३१ तारिक । साथीहरुले पहिले नै पैसा उठाएर मलाई चिठ्ठा किन्न दिएका थिए । खै किन हो किन मलाई चाँहि त्यती जाँगर चलेको थिएन । साथीहरुले धेरै कर गरे पछि म ड्युटी जाँदा बाटोमा पर्ने अबुधाबी मलको सिटी टर्मिनलमा ओर्लिएर ७ भएको नम्बर हेर्न थालेँ । मेरो लक्की नम्बर ७ हो । सानो हुँदा पनि ७ नम्बर भएको चिठ्ठाहरु जितेको थिएँ । यसपाली पनि कता कता जित्छु कि जस्तो मनमा चाहिँ थियो । अन्तिममा ७ भएको ४५८८७ किने । नभन्दै भाग्य पनि त्यही टिकट भयो । मैले ७ मिलियन दिराम्स अर्थात् २० करोड रुपैयाँ जितें ।

साधारणतय ५ मिलियन ५० लाख दिराम्सको हुने चिठ्ठा यसपाली भने ७ मिलियन ७० लाख खुलेको थियो । पर्छ नै भन्ने त लागेको थिएन तर पर्यो । म मात्र भाग्यमानी हैन, हामी सबै ५ जना नै भाग्यमानी भयौं ।

हो, हामीले हाम्रो भाग्य अनुसार चिठ्ठा त जित्यौं। हामी प्रत्येकको भागमा १४ लाख दिराम्स अर्थात् ४ करोड रुपैयाँ पर्न आउँछ । पैसा नै ठुलो कुरो पनि त हैन ।

त्यो देखि बाहेक मैले मेरो जीवनमा गर्नुपर्ने अरु पनि धेरै काम छन् । भरखर त २५ वर्षको पुगेँ । जीवन लामो छ । साथीहरुले के गर्नुहुन्छ थाहा भएन तर म भने केही रकम च्यारिटीमा पनि खर्च गर्छु । त्यसो गरे भने मात्र म जीवनभर खुसी हुनेछु । (स्रोतः अनलाईनखबर डट कम)