अदुवा बिक्रीमूल्य नपाउँदा समस्या

Published On: In Category: कृषि विशेष

विनोद घिमिरे
धनकुटा / पहिला राम्रो मूल्य पाउँदै आएको अदुवाले अहिले मूल्य नपाएपछि अदुवा उत्पादक किसान मर्कामा परेका छन् । गत वर्षको पहिलो सिजनमै धनकुटा जिल्लाबाट करिब १८ करोड रुपैया मूल्य बराबरको अदुवा भारत निकासी भएका थिए । तर, यो वर्ष भने उचित मूल्य नपाउने भएपछि कारोबार शुन्य प्रायः छ ।
गएको वर्ष बारी मै खरिद गर्न आएका ब्यापारीलाई ८० रुपैयाँ प्रतिकिलो अदुवा बेचेका थिए, किसानहरुले । यो वर्ष भने चैत्रको तेस्रो साता बितिसक्न लाग्दापनि भने जस्तो भाउ नलागे पछि बारिबाटै अदुवा निकालेका छैनन् । अदुवा निकाल्न नपाउँदा किसानले मकैलगायतका बाली लगाउन माटो समेत तयार पार्न पाएका छैनन् । खनिसकेको अदुवा पनि बिक्री नभएपछि गोदाममै थन्किएको छ ।
बीउ, मेहनत र औषधी गरी एक किलो अदुवा उत्पादनकै लागि किसानको करिब ३५ रुपैयाँ खर्च हुने गरेको बताउँछन् । उता अहिले बजारमा अदुवाको मूल्य मुस्किलले प्रतिकिलो २५ रुपैयाँ मात्रै छ । जसका कारण किसानहरुले खेती गर्दाको लागत नै उठाउने अवस्था नरहेको बताएका छन् । त्यसमाथि आफ्नो मेहनत कता गयो ?
धनकुटामा उत्पादित ७८ प्रतिशत अदुवा धरान, विराटनगर तथा झापाका ब्यापारीहरुमार्फत भारत निकासी हुने गरेको छ । यो वर्ष तीन हजार ६ सय किलो अदुवा जिल्लामा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

 

Related Tag: Palpa Dhankuta