कांग्रेसले मरेको पशुको सिनो बोकेको छ सचिव योगेश भट्टराई

Published On: In Category: जिल्ला समाचार
कांग्रेसले मरेको पशुको सिनो बोकेको छ  सचिव योगेश भट्टराई

मंसिर १६, धनकुटा । नेकपा (एमाले)का सचिव तथा पार्टी प्रचार विभागका प्रमुख योगेश भट्टराईले नेपाली कांग्रेसले आफ्नो मूल्य, मान्यता र आर्दश भुलेको आरोप लगाए । सचिव भट्टराईले कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरेको पशुको सिनो बोकेको व्यंग गरे । कांग्रेसले अहिले गठबन्धनको नाममा पञ्चायतका अवशेषको रुपमा रहेको गन्हाएको राप्रपा प्रजातान्त्रिक बोकेर मुख थुन्दै हिँडिरहेको छ । उनले कांग्रेसकै संस्थापक बीपीलाई जेल र धनकुटाका भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिनेका सन्तानलाई बोकेर हिँड्नु इतिहास बिर्सेको हुने बताए । सो कुरा पाख्रिवासमा एमाले पाख्रीबास नगर कमिटीको आयोजना भएको चुनावी सभामा बोल्दै एमाले सचिव भट्टराईले बताएका हुन् ।
यो दुवै निर्वाचन सम्पन्न भएपछि बाम गठबन्धनले ५० वर्षसम्म सरकार कब्जा गर्ने दाबी सचिव भट्टराईले गरे । बाम सरकार बने अधिनायकवाद आउने र जनता रुनुपर्ने आरोपको खण्डन गर्दै उनले भने, ‘रोइरहेका जनता हाँस्ने छ , बाम सरकार बनेपछि वृद्ध आमाबुबा हाँसेका छन् । अब सबै जनता हाँस्नेछन, ।’ सो अवसरमा सचिव भट्टराईले पूर्वको विकासका लागि तथा समृद्धिको लागि मध्येपहाडी लोकमार्ग र तमोर करिडोरको बाटो आगामी ५ वर्षभित्र कालोपत्रे गर्ने आश्वासन दिए । उनले तमोर नदीमा विद्युत् उत्पादनको लागि जलासय बनाएर पानी जाहाज चलाउने योजना सुनाउँदै व्यंग गर्दै भने, ‘त्यो पानीजहाजको ड्राइभर केपी ओली र प्यासेन्जर शेरबहादुर देउवा हुनेछ ।’
सचिव भट्टराईले भारतको जोगबनीदेखि किमाथांका नाका खोलेर धनकुटालाई मुख्य ट्रान्जिट प्वाइन्ट बनाउने आश्वासन दिए । पूर्वमा कृषि र पर्यटन विकासको सम्भावना रहेको बताउँदै पर्यटन हब बनाउने कार्ययोजना सुनाए । उनले गठन हुने बाम सरकारले प्रत्येक नगरपालिकालाई एक अर्ब र गाउँपालिकामा ५० करोड बजेट विनियोजन गर्ने बताए । 
त्यस अवसरमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्व सभासद् हेमराज भण्डारीले जनचाहना समृद्धि र विकास भएकाले बामपन्थी सरकारले देशको समृद्धि र विकास गर्ने बताए । सो कार्यक्रममा बामगठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार तथा जिल्ला अध्यक्ष राजेन्द्र राईले धनकुटाको विकासका लागि एमालेले जित्नु पर्ने बताए । सो अवसरमा प्रदेससभा उम्मेदवार इन्द्रमणी पराजुली, कांग्रेस परित्याग गरेर आएका नेपाली कांग्रेस क्षेत्र नं. २, क्षेत्रीय समितिका सचिव मिलन बराललगायतले बामगठबन्धनको पक्षमा मत दिन आग्रह गरे ।