विकासका लागि बामगठबन्धन जित्नुपर्छ ..भण्डारी

Published On: In Category: जिल्ला समाचार
विकासका लागि बामगठबन्धन जित्नुपर्छ ..भण्डारी

धनकुटा । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पूर्व सभासद् हेमराज भण्डारीले धनकुटाको विकास गर्न बाम गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन् । संयुक्त बामगठबन्धनले खोकुमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
पोलिटव्यूरो सदस्य भण्डारीले स्थानीय तहको निर्वाचनमा धनकुटाको सात वटै तह जितेको बामगठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभामा पनि सूर्य चिन्हमा मतदान गरेर जिताउन मतदाताहरु सँग आग्रह गरे । सो कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र राईले २०३६ सालको खोकु, छिन्ताङ, आँखिसल्ला हत्या काण्डका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्न पहल गर्ने बताउँदै आफुलाई मत दिएर जिताउन मतदाता समक्ष आग्रह गरे । त्यस्तै धनकुटा क्षेत्र नं. २ प्रदेशसभाका उम्मेदवार इन्द्रमणी पराजुलीले खोकुलाई सुन्तलाको राजधानी बनाउनको लागि पहल गर्ने बताउँदै संयुक्त बामगठबन्धनको तर्फबाट आफुलाई सूर्य चिन्हमा मतदान गरेर जिताउन मतदाताहरु समक्ष आग्रह गरे । 
कार्यक्रममा समानुपातिक तर्फ एमालेका उम्मेदवारहरु हिमादेवी बस्नेत, माओवादी केन्द्रका सुष्मा किराँती, एमाले धनकुटाका सचिव सुरेन्द्र पौडेल, माओवादी केन्द्रका कार्यवाहक इञ्चार्ज उज्ज्वल किराँती, खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकाका प्रमुख मनोज राई लगायतले विकासका लागि स्थायी सरकार आवश्यक हुने बताउँदै बामगठबन्धनको देशैभर लहर चलेकोले बहुमतको सरकार बामगठबन्धनले बनाउने भएकाले मतदान गर्न आग्रह गरे ।