धनकुटालाई प्रदेश राजधानी बनाउन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक उद्योगमन्त्री थापा

Published On: In Category: जिल्ला समाचार
धनकुटालाई प्रदेश राजधानी बनाउन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक  उद्योगमन्त्री थापा


धनकुटा । आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका उम्मेदवार तथा उद्योगमन्त्री सुनीलबहादुर थापाले लोकतान्त्रिक गठबन्धन विजयी भए मात्र धनकुटालाई प्रदेशको राजधानी बनाउन सम्भव हुने बताएका छन् । चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको चुनावीसभामा बोल्दै थापाले देशमा लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न, संविधान कार्यान्वयन गर्नका साथै धनकुटाको विकास र समृद्धिका लागि पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।
लोकतान्त्रिक गठबन्धन चुनाव प्रचारप्रसार समितिले गरेको चुनावी सभामा मन्त्री थापाले अघिल्लो निर्वाचनमा धनकुटेली जनताले दिएको अपार मायालाई आफुले कहिले पनि अवमुल्यन नगरेका बताए । उनले आफुले निर्वाचनको क्रममा व्यक्त प्रतिवद्धता सबै पुरा गरेकोले यो पटक पनि धनकुटेली जनताले माया गरेर विजयी बनाउने विश्वास व्यक्त गरे । आफु्ले अघिल्लोपटक धनकुटेली जनसमुदायसमक्ष ४ वटा वाचा गरेको र ती सबै इमान्दारिताका साथ पूरा गरेको दावी गरे । त्यसका साथै विकासका काममा आफुले कहिले पनि कन्ज्युस्याई नगरेको बताए ।
सो चुनावीसभामा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश नं. २ का उम्मेदवार अर्जुन थापा, नेपाली कांग्रेसका जिल्ला सभापति अग्नी पौडेल नेपाली कांग्रेसका नेता आनन्दसन्तोषी राईलगायतले मानवअधिकारको बहाली, वाक स्वतन्त्रता र लोकतन्त्र स्थापनाका लागि आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए ।