धनकुटाका कलाकार कविराजलाई कतारमा सम्मान

Published On: In Category: जिल्ला समाचार
धनकुटाका कलाकार कविराजलाई कतारमा सम्मान

 
रबिन थापा मगर÷ दोहा, कतार 
धनकुटाका प्रख्यात कलाकार मयुर नृत्यकार तथा हुर्रा पुस्तकका लेखक कविराज मगरलाई धनकुटा प्रवासी सेवा समाज, कतारले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । नेपाल मगर संघ कतारद्वारा आयोजित हुर्रा महोत्सवमा प्रस्तुति दिन तथा प्रमुख अतितिको रुपमा आएका कलाकार मगरलाई सनैयास्थित हिमालयन होटलको सभा हलमा सम्मान गरिएको हो  । 
संस्थाका अध्यक्ष ललित लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा सम्मानित व्यक्तित्व कविराज मगर र बिशेष अतिथिहरुमा संस्थाका संस्थापक तथा  प्रमुख सल्लाहकार तुलसी सुबेदी, संस्थापक तथा सल्लाहकार डि.एन मगर, प्रथम उपाध्यक्ष पदमकुमार घिमिरे, अन्य अतिथिहरुमा तनहु सेवा समाज, कतारका अध्यक्ष केश गुमर्छन मगर र कामेश्वर मण्डल रहेका थिए ।
कर्यक्रममा समाजका द्वितीय उपाध्यक्ष डिल्लीकुमार सुबेदीले स्वागत मन्तव्य दिएका थिए । सम्मानित मगरलाई प्रमुख सल्लाहकार र अध्यक्षलगायत अतिथिहरुले सम्मान पत्र तथा खादाँ ओढाएर सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । 
समाजका प्रमुख सल्लाहकारले समाज स्थापनादेखि समाजले गरेका कार्यहरुको बारेमा जानकारी दिएका थिए । सम्मानित व्यक्तित्व मगरले धनकुटा प्रवासी सेवा समाजले गरेको सम्मान प्रति आभार प्रकट गर्दै विदेशमा पनि धनकुटालाई चिनाउन, धनकुटेलीहरु संगठित रुपमा अघि बढेको देख्दा खुसी लागेको बताए । उनले संस्था, संगठनमात्र होइन देशको नेतृत्व हाक्न धनकुटेलीहरु सफल भैसकेको र सफल हुने भन्दै धनकुटा प्रवासी सेवा समाजले गर्दै आएको कामहरुको प्रसंसा पनि गरे  ।
समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति ललित लिम्बुले सम्मानित व्यक्तित्वलाई समाजको आतिथ्य ग्रहण गर्नको निम्ति समय उपलब्ध गराएकोमा धन्यवाद दिदै ,समाजका उपस्थित सम्पूर्ण सदस्यहरुलाई आभार प्रकट गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव रबिन मगरले गरेका थिए  ।