मलामीले नै गरे, मूलघाटको सफाई

Published On: In Category: स्वास्थ्य खबर
मलामीले नै गरे, मूलघाटको सफाई


धनकुटा, कार्तिक ५ ।
धनकुटा नगरपालिका वडा नं. ६ निवासी नारायण भगत श्रेष्ठको दाहसंस्कारका लागि मूलघाट गएका मलामीले नदी क्षेत्र सफाई गरेका छन् । दाहसंस्कारका लागि मलामी जानेहरुले खानेपानी पिएर फ्याकेका मिनरल वाटरका बोटल, विस्कुटका खोल, जुसका खोललगायत प्रयोग गरेर यत्रतत्र फ्यालेका फोहर संकलन गरेर आगो लगाई दिएको मलामी गएका बौद्धिक विकास समाज समितिका अध्यक्ष सुभाषचन्द्र जोशीले जानकारी दिए ।
मलामी गएकाहरुले जताततै खाएर खोलहरु फ्याकिदिनाले घाट नै प्रदुषित भएकाले सफाई गरेको वीचबजार निवासी सत्यनारायण श्रेष्ठले बताए । उनले घाटमा खाएका खोलहरु फ्याक्नका लागि खाल्डो बनाउनु पर्ने बताए । खाल्डोमा फ्याकिएका फोहरहरु आगो लगाई डढाउन वा संकलन गरेर नगरपालिकाको फोहर संकलन केन्द्रमा ल्याउन सजिलो हुने बताए ।
मलामी गएकाहरुले पानी खाएका खाली बोटलहरु वा विस्कुटलगायतका खोलहरु आफैले व्यवस्थापन गरेमात्र पनि घाट सफा हुने मलामी तथा डिभिजन सडक कार्यालयका अधिकृत रामनारायण श्रेष्ठले बताए ।
धनकुटा नगर देशकै सफा नगर भएको र यसलाई निरन्तरता दिन सबैको दायित्व पनि भएको नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए । उनले मलामी गएकाहरुलाई दिसापिसाव लागेमा घाटमै गर्नुपर्ने वाध्यता रहेको बताउँदै नगरपालिकाले दाहसंस्कार गर्ने क्षेत्र वरिपरी शौचालय बनाउन पर्ने बताए ।