विविध कार्यक्रमसहित नेपाल सम्वत् मनाईयो

Published On: In Category: जिल्ला समाचार
विविध कार्यक्रमसहित नेपाल सम्वत् मनाईयो

धनकुटा । नेपाल सम्वत् ११३८ धनकुटालगायत देशभर विविध कार्यक्रमसहित सम्पन्न भयो । धनकुटामा नेवाः पुचः धनकुटाको आयोजना र स्थानीय हुलाकटोल समाजको संयोजनमा कार्यक्रम सम्पन्न भयो ।
सो अवसरमा पुचःको श्रीवानीस्थित कार्यालय प्रांगणमा जम्मा भएर र्याली हुलाकटोल, वीचबजार, सिरानबजार, माथिल्लोकोप्चे, तल्लेकोप्चे हुदै हुलाकटोल चुवाको बोटमा समापन भएको थियो ।
हुलाकटोल टोलवस्तीका अध्यक्ष लक्ष्मीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा फुटवलका राष्ट्रिय खेलाडी सुजल श्रेष्ठ, जेष्ठ नागरिक महिलातर्फ लक्ष्मीदेवी श्रेष्ठ, पुरुषतर्फ जेष्ठनागरिक इन्द्रराज उदास र समाजसेवी विश्वेश्वरप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पुचःका अध्यक्ष नवीनकिशोर शाक्यले नेपाल सम्वत् र यसका संस्थापक शखंधर साख्वाका वारेमा जानकारी दिएका थिए । सो अवसरमा खग्गी सेवा समाजका अध्यक्ष मिलन खड्गीलगायतले शुभकामना मन्तव्य दिएका थिए । 
संस्थाका कोषाध्यक्ष शैलेसकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत  मन्तव्य सचिव सुनिल डंगोलले गरेका थिए । सो अवसरमा उत्कृष्ट नेवारी पोशाक पहिरन गरेको भन्दै ३ टोललाई पुरस्कृत समेत गरेका थिए ।  पुरस्कृत हुनेहरुमा प्रथम हुलाकटोल भएका थिए । कार्यक्रमको अवसरमा नृत्य तथा सांगितिक कार्यक्रम पनि प्रस्तुत गरेको सचिव सुनिल डंगोलले जानकारी दिए । 
भिन्तुना कार्यक्रम धनकुटा बजारको टोलहरुले पालैपालो स्थानीय संयोजन गर्ने परम्पराअनुसार अर्को वर्षको कार्यक्रम माथिल्लो कोप्छेले आयोजना गर्न व्यानर हस्तान्तरण गरिएको थियो ।
सोहि अवसरमा नेवारी भोज खुवाईएको थियो ।