संस्मरण ः सिर्फ अर्को एक दिन भए

Published On: In Category: विचार / लेख
संस्मरण ः सिर्फ अर्को एक दिन भए


भारती गौतम
“बालाई आज अस्पतालबाट घर ल्याउने भनेको थियो आईसक्नु भयो?“
“दिदी हजुरले अब धैर्य गर्नु प¥यो“। 
चौतारीको सिलालेख जस्तै मेरो मेरो ह्रदयमा कोरिएको संवाद ।
आजभन्दा झण्डै बीस वर्ष अगाडिको भदौको झरिलो बेलुकि  (नेपालको बिहान) थियो त्यो। बेलुकाको खाना सबैले खाईसकेर केटाकेटी आआफ्ना होमवोर्क तिर लागेका थिए। कान्छो छोरो टिभीमा भिडियो गेममा व्यस्त थियो। अघिल्लो रात  बा अस्पतालबाट घर फर्किने निधो भाईले चार दिन अघि सुनाएको थियो। बासँग ढुक्कले लामो कुरा गरौंला अनि भनी एकघन्टा पुग्ने  कार्ड बसी डलरमा  किनेर फोनमा बसेको पनि १५ मिनेट भैसकेको थियो।
फोन कनेक्सन भएको लामो अनि सुरिलो घन्टीको आवाज सँगै बासँग बोल्ने उत्सुकताले मेरो शरीर भरी न्यानो दौडियो। मेरो मुटु पनि अलिक छिटो छिटो उफ्रिन थाल्यो। पाँचौ घन्टी पछि उताबाट जवाफ आउन आँटेको चुपचापले अप्रत्याशित भय मेरो शरीरभरी फैलिएपनि नेपाल फोन गर्नु अघिको यस्तो भय स्वभाविक ठानेर बा कै आवाज मेरो कानले पर्खियो। उताबाट जवाफमा बा को हैन बुहारी अचलाको स्वर सुने पछि पैतालादेखि टाउकोसम्म बग्ने रगत एकैचोटी चिसियो। त्यसपछिको उपरोक्त वाक्यले मेरो संसार छिनैमा खोसेको थियो। मेरो हातबाट फोन कता खस्यो थाहा पाईन। मेरो शरीर मा बग्ने रगत रोकिएजस्तो भयो। मेरो मुखबाट निस्किएको “है....राम को चर्को चिच्याहट सुनेर छोरा छोरी मेरो वरीपरी जम्मा भए। शिवजी तल ओर्लिनुभो। “हैन, यो हुनै सक्तैन, मेरो बोलीकम रुवाइ बढी भएछ। छोराले र छोरीले गालासम्म बगेका मेरा आंशु पुछिदिन थाले। रुघालागे जस्तै मेरो नाक पनि बग्न थाल्यो। मुखभित्र नुनिलो पस्यो। मेरो आवाज मधुरो हुनु अघि फेरि चर्कियो। मैले केहि भन्नु परेन सबैले बुझे। कोठाका चारै भित्तामा मेरो आवाज ठोक्कियो। छोराछोरीले एकैचोटी अंगालामा बेरे मलाई। शिवजी अलमल्ल पर्नु भयो ।
अचलालाई एकपटक फोन गरेर यो साँचो हैन भनिदिनु न प्लीज, मैले शिवजीसँग बा को अनि एकै निमेषमा सकिएको मेरो जीवनको पनि भीख मागेछु। मेरो बोली म आफैले बुझ्न नसकिने भएछ। शिवजीको फोन र मेरो चित्कारले पनि समाचार झुठो भएन।
 डेढ दशकको परदेश बसाईमा कहिल्यै सुन्नु नपरोस् ठानेको समाचार सुन्नु परेको त्यो रात मेरो जीवनको सबैभन्दा कालो, घना, भयभीत र क्रुर रात थियो। उक्त एक वाक्यले मेरो जीवन अनायास वर्षौं बृद्द हुन पुगेको थियो।, मेरो टाउकाबाट छानो, मेरो आंगबाट कपडा, मेरो भोकबाट भोजन को साथसाथै मेरो शरीरबाट आत्मा हराएको जस्तो हुनपुगेको थियो। एकातिर म निमेषमै बृद्द हुन पुगें भने अर्कोतिर म मेलामा छुटेको बालक जस्तो समेत हुन पुगें। 
सास फेर्न केहि गाह्रो भएपछि डेढहप्ता अघि उहाँलाई  अस्पताल मा भर्ना गरिएको रहेछ। सबै ठिक भएर बा घर फर्किदै हुनु हुन्थ्यो। महिनाको एक पटक मैले फोन गर्ने मिति नाघेर डेढ महिना पुग्नै आटेको भएपनि अस्पतालबाट बा फर्केपछि निर्धक्क कुरा गर्न म तीनदिनदेखि व्यग्र थिए। एक महिना बासँग मात्रै बस्ने गरी नेपाल जानेसमेतको मेरो योजना  प्रारम्भमा नै अन्त्य भयो। यो सबै विना सूचनाको प्रलय बनेर मेरो हृदयको पिंधैमा गाडियो ।
भोलि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किने भनेको राति नै हृदयाघातका कारण अर्कै लोकको यात्रालाई बरण गरिसक्नु भएका बाले सुन्न नसक्ने गरी कहालिएको  क्रन्दन मेरो मनको एकछेउमा ठोक्किएर अर्को छेउमा तरंगित हुन पुग्यो। बहिरभने भक्कानिएर मेरो अन्तर्पीडा पोखिईरह्यो, बगिरह्यो भदौरे झरी बनेर। एकघन्टा भन्दा बढी कुरा गर्न भनेर किनेको २० डलरको फोनकार्ड, नेपाल जाने टिकट बुझ्न ठिक्क पारेका ट्राभल एजेन्सीका नम्बरहरुसँग आँखा जुधाउन गाह्रो मेरो जीवन विखन्डित टुक्रा टुक्रा छरिन थाल्यो ।
मेरा बा मेरा लागी एउटा अभिभावक, एउटा प्रशंसक, एउटा अस्तित्वबोध, एउटा संरक्षक मात्र नभएर मेरो सर्वस्व हुनु हुन्थ्यो। चावीले चल्ने खेलाउना जस्तो मेरो जीवनका तमाम आरम्भको आरम्भ मेरा वुवा मेरो जीवन खेलाउनाको एकमात्र चावी हुनु हुन्थ्यो। 
हात्तीलाई अन्धाहरुले गरेको वर्णनजस्तो मेरा वा पनि थुप्रै व्यक्तित्वबाट आआफ्ना दृष्टीअनुसारपरिभाषित हुनु हुन्थ्यो। उहाँको विद्दताका रोचक प्रसंगहरुको घुईचोमा मेरा वा सहजै भेट्टिनु हुन्थ्यो।
“नौ भाषामा सिपालु विद्या सागर“ कसैले भन्थे ।
“काशीको विद्यार्थी जीवनमा एकै रातमा उहाँले संस्कृतका चारसय श्लोक कण्ठ पार्नु भएको थियो अरे  “(अरु कसैले यसो भन्थे।
“उनलाई महाकवि श्रीहर्षको नैषधीय चरित महाकाव्य समग्र कन्ठै थियो। चित्तधर हृदयको सुगत सौरभ नेवारी भाषाको महाकाव्य सुनाएकोमा प्रभावित भएर सत्य मोहनजोशीले भाजुरत्न कंशाकारकोमा प्रवचन गर्न समेत लगाएछन्।“ एकजना विद्वानले यसो भन्नुहुन्थ्यो।
“१४ वर्षको बालकले अत्यन्त रोचक ढंगले चौतारामा बसी पुराण वाचन गरेको दृष्यले बटुवाहरु पनि चकित भए। १४ वर्षको उमेरमा पुराण भन्ने बालकको नाम हेमचन्द्र पोखरेल यो पनि धेरैबाट सुन्ने गरेको।
“एउटा अद्दितीय प्रतिभाका धनी“ यस्ता विषेशण पनि एकपटक भन्दा धेरै पटक सुन्ने गरेको।
 मेरा बा को नाम हेमचन्द्र पोखरेल । धनकुटा बहुमुखी क्याम्पस को परिधि उहाँको कार्यक्षेत्र। उहाँको असिम विद्दताको परिधि भने सीमाहिन । विद्वान व्यक्तित्वहरुले गरेका परिभाषाका मेरा वा दिंवगत भएको समाचार रेडियोले आफ्नु समाचारमा सम्मिलित ग¥यो । पत्रपत्रिकाले आफ्ना पानाहरुका कुनामा छापे। 
“उहाँ अरु दश वर्ष बाच्नु भएको भए दुर्लभ कृतिको जन्म हुन्थ्यो होला“ विद्वान आफन्तले भने।
धनकुटाको सट्टा काठमाण्डौ बस्नु भएको भए उहाँको उचित कदर हुन्थ्यो होला, धेरैले भने।
यसरी अप्रत्याशित ढंगले जीवनबाट मेरा वा अस्ताउँदाका प्रतिक्रियाहरु देउरालीमा ढुंगा चुलिए जस्तै चुलिन थालेका थिए। आफन्त का आफन्तबाट आफ्नै तरिकाले अनुभवको सेरोफेरोमा सिमित ।
मैले गुमाएका बा देशको विभुति हैन, एउटा प्रकाण्ड विद्वान हैन, सात भाषाको ज्ञाता हैन, चार दशक भन्दा बढी उहाँले भिरेको प्राध्यापनको पगरीहरु केहि पनि हुनुहुन्नथ्यो।  मैले त मेरो अस्तित्वको आधार गुमाएकी थिए। मेरो हिजोको विश्वास र भोलिको आस्था गुमाएकी थिंए। मेरो लागि त वा परदेशजाँदा सुटकेस मिलाईदिने सहयोगी हुनुहुन्थ्यो । शरीरको कुन भागको दर्द मेट्न कुन औषधि खाने भनी कर गर्ने वैद्य हुनु हुन्थ्यो। तीजको दरखानेदिन आफूले जानेका मिठाई र हलुवा पुरी तयार गरिदिने भान्से हुनुहुन्थ्यो। मेरो सफलतामा सबैभन्दा बढी थपडी मार्ने भक्त हुनु हुन्थ्यो। गोजीमा जहिले पनि मेरो तस्वीर बोकेर हिड्ने एउटा कटिबद्द पुजारी हुनु हुन्थ्यो। तल बेल्हाराको फेदीमा खेती गर्ने मानबहादुर उसको छोरीको लागि भए जस्तै मेरा बा मेरो लागि सिर्फ एउटा सामान्य तर अद्दितीय बा हुनु हुन्थ्यो ।
“नानी यसपाली त एक महिनै कटिसक्यो फोन आएन किन हो ?“  मेरो फोनको प्रतीक्षामा दिनगनीरहने मेरा बा त्यहि मिठो वाक्य हुनु हुन्थ्यो। “किन फोन राखिहाल्न हतार गरिस् नि“, घन्टौं कुराकानी गरेपनि फोन राख्न गाह्रो मानेर मेरा कुरा सुनिरहने अनुपम स्रोता हुनु हुन्थ्यो।
“अझै दस दिन बाँकी तँ आउन, त्यतिबेलासम्म म बाँची रहौंला र?“ मलाई देख्न बाँकी दश दिन दश युग जस्तो लाग्ने एकजना अनन्य बात्सल्यको मुहान हुनु हुन्थ्यो मेरा बा, मेरा लागि।
“नानी यसो भनेको यसो हो को के चाहिँ हो ? आफूमा भएको अथाह विद्दतालाई भन्दा मेरो अनभिज्ञताको सीमितालाई ससम्मान विश्वास गर्ने हुनु हुन्थ्यो। म प्रतिको अगाध स्नेहको झरी मेरा सन्ततीमा समेत वर्षाएर ममताको भेलमा मेरा छोराछोरीलाई पनि निथ्रुक्क रुझाउने मेरा बा अमृत वर्षा हुनुहुन्थ्यो । 
बा मेरो आफ्नै परिभाषा हुनुहुन्थ्यो । मेरो आफ्नै ऐना हुनुहुन्थ्यो। मैले चढेका साना साना थुम्का थुम्कीलाई सगरमाथा आरोहणको उत्सवका झंकारले हाम्रो घर आतेसवाजीको आकास उज्यालो पार्ने एउटा आज्ञाकारी कारिन्दा हुनुहुन्थ्यो।
यो समयमा जब जब मुलुक चाडवार्डको पूर्वाभासले लटरम्म हुन थाल्छ। जाडो र गर्मीको दोभानमा मौसम जब स्नान गर्न थाल्छ, वावुको मुख हेर्ने भन्दै  दोकानका तखताहरु  सुटटाई, जुत्ताकोट, कलम, चश्मा, अत्तर, टेलिफोन टेभीहरुले चुलिन थाल्छन् म विगतमा पौडिन थाल्छु।  
मेरा बालाई बेग्लाबेग्लै परिभाषा ले संझिनेहरुको मानचित्रबाट मेरा बा पनि गृहयुद्दबाट हराएको सोभियत संघ या चेकोस्लोभाकियाजस्तो भैसक्नु भएको हुनुपर्छ । उनीहरुको मानचित्रमा नयाँनयाँ स्मृतिहरु जन्मिई सकेको हुनुपर्छ। तर, मेरोलागि बा को सस्मरण पुरातात्विक वास्तुकला जस्तो अझै अनमोल हुदो छ ।
बासँग सिर्फ अर्को एकदिन पाउन पाए मेरो जीवनको सारा अतित, वर्तमान र सम्पूर्ण भविष्य एकै निमेषमा समर्पण गरिदिन्थें। मेरा बासँग फगत एकदिन अरु पाउने भए मेरो जीवन उहांको चरणमा सहर्ष खन्याइदिन्थें ।
(लेखिका गौतम धनकुटा कचिडेमा जन्म भई हाल अमेरिका बस्दै आउनु भएकी साहित्यिककर्मी समेत हुनुहुन्छ ।)