इटहरी र बिराटनगर राजधानी बनाउन अन्तर्राष्ट्रिय मापदण्डले मिल्दैन ः उद्योग उद्योगमन्त्री थापा

Published On: In Category: जिल्ला समाचार
इटहरी र बिराटनगर राजधानी बनाउन अन्तर्राष्ट्रिय मापदण्डले मिल्दैन  ः उद्योग उद्योगमन्त्री थापा


असोज ७, धनकुटा ।
अहिले सबैको चासोको विषय बनेको प्रदेश नं. १ को राजधानीको विषयमा उद्योगमन्त्री सुनिलबहादुर थापाले अन्तर्राष्ट्रिय मापदण्डले पनि इटहरी र बिराटनगर राजधानी हुन नसक्ने ठोकुवा गरे । ‘जेनभा अभिसन्धिअनुसार कुनै पनि प्रादेशको राजधानी हुने स्थान अन्तर्राष्ट्रिय सीमा भन्दा ५० देखि ६० किमि टाढा हुनुपर्ने प्रावधान छ । विराटनगर र इटहरी भारतीय सीमाभन्दा केवल क्रमशः ५ र २५ किमि दुरीमा पर्छ । त्यसैले प्रदेश नं. १ को राजधानी बिराटनगर वा इटहरी हुन सक्दैन’ उनले भने । अर्को प्रसंगमा मन्त्री थापाले यि दुई नगरमा राजधानी बनाए विवाद पनि सृजना उत्पन्न हुन सक्ने भएकाले विवाद सृजना हुन नसक्ने साविक ५ विकास क्षेत्रको सदरमुकामहरु र भौतिक पूर्वाधारहरु प्रसस्त साविक क्षेत्रीय सदरमुकामहरुलाई नै प्रादेशिक राज्यको राजधानी बनाउनु पर्ने बताउँदै धनकुटा स्वतः प्रदेशको राजधानी हुने बताए ।’ उनले तराईमा विकासको गति तीव्र भएकाले विकासमा पछाडि रहेको पहाडी क्षेत्रको विकास र सुविधाका लागि पनि धनकुटा प्रदेशको राजधानी हुनुपर्ने बताए ।
देशको समानुपातिक विकास र पहाडबाट बसाई सराई क्रमलाई रोक्न पनि धनकुटा नै प्रदेशको राजधानी हुनु पर्ने धारणा मन्त्री थापाले राखे ।
विजयादशमी तथा दिपावलीको अवसरमा स्थानीय प्याशिफिक होटल ३ मा आयोजित शुभकामना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले सो भनाई राखेका हुन् । मन्त्री थापाले नेपालले जेनेभा अभिसन्धी हस्ताक्षर गरिसकेको छ । सो अभिसन्धीअनुसार बिराटनगर र इटहरी अन्तर्राष्ट्रिय सीमाको नजिक पर्ने भएकाले प्रदेशको राजधानी बनाउन नमिल्ने बताए ।
अर्को प्रसंगमा मन्त्री थापाले स्व. सूर्यबहादुर थापाले गुड्ने सडक बनाउनु भएको र आफु उड्ने व्यवस्था (विमानस्थल) का लागि त्रियाशील भैरहेको बताए ।
मन्त्री थापाले नेपालको औद्योगिक नीति परिवर्तन गरेर पीपीपी मोडलमा नेपालमा बन्द भएका उद्योगहरु सञ्चालनमा ल्याउन सकिने बताए । उनले भने, ‘यस्ता उद्योगहरु सेना, प्रहरीलाई सञ्चालन गर्न सकिने गरी कानुन परिमार्जन गरिनुपर्छ ।’ नेपालमा उत्पादित कपडा र जुत्ता सेना प्रहरीले मात्र प्रयोग गर्ने नीति अख्तियार गरे धेरै कपडा र जुत्ता उद्योग सञ्चालन हुनसक्ने बताए ।
पत्रकार महासंघ शाखा अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले नेपाल कृषिप्रधान देश भनिएता पनि धनकुटामा रहेको कोल्डस्टोरेज बन्द गरेर स्टोरेजको जग्गा प्लटिङका लागि विक्री गर्नु दुर्भाग्य रहेको बताए । अध्यक्ष श्रेष्ठले अहिले अलौची र अदुवाले मूल्य नपाएको प्रसंग कोट्याउँदै यस्ता कृषि उपजको गुणस्तरका लागि आधुनिक उपकरण सरकारले व्यवस्था गर्नु पर्ने धारणा राखे ।