बेलवारीलाई हराउँदै ब्वाइज युनियन क्लब शहीद भिमनारायण कपको फाईनलमा

Published On: In Category: खेल / मनोरन्जन
बेलवारीलाई हराउँदै ब्वाइज युनियन क्लब शहीद भिमनारायण कपको फाईनलमा


२९ भदौ, धनकुटा ।
धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपमा काठमाडौंको डिभाइन ब्वाइज युनियन क्लब बेलवारी, मोरङलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । सम्पन्न पहिलो सेमिफाइनलमा ब्वाईज युनियनका केन्याली खेलाडीले खेलको ३ मिनेटमै पहिलो गोल गरेका थिए । 
तइहि पहिलो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । डिभाइन ब्वाइज युनियन क्लबका लागि एक मात्र गोल केन्याली खेलाडी अबुबाकोनले गरेका थिए । 
खेलमा बेलबारीका खेलाडीहरुले धेरै पटक पोष्टमा प्रहार गरेपनि कुनै पनि प्रहार गोलमा परिणत गर्न सकेन । खेलमा दुवै पक्षबाट आक्रामक खेल खेलेका थिए । 
खेलको म्यान अफ दी म्याच विजेता टीम ब्वाईज युनियनका केन्याली खेलाडी अबुबाकोन घोषित भए । उनलाई प्रतियोगिताका संस्थापक संयोजक तथा नेपाल पत्रकार महासंघ धनकुटा शाखा सभापति राजेश्वरबहादुर श्रेष्ठले नगद दुई हजार पाँच सय रुपैया र मायाको चिनो प्रदान गरेका थिए । 
डिभाइन ब्वाइज युनियनक्लबले उपाधिका लागि शुक्रबार हुने विर्ता युनाइटेड क्लब झापा र डिफेण्डिङ च्याम्पियन फ्यान्स क्लब बिआरसी भुटानवीच हुने प्रतियागिताको विजेता टिमसँग शनिबार हुने फाईनलमा प्रतिस्पर्धा गर्ने छ । विर्ता युनाइटेड क्लब झापा गोधुली क्लब सुनसरीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो भने फ्यान्स क्लब बिआरसी भुटान बाई पाएर सिधै सेमिफाइनल प्रवेश गरेको हो । 
गोल्डकप प्रतियोगिताको विजेता टिमले गोल्डकप सहित नगद एक लाख रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार रुपैयाँ सहित कप पाउने आयोजक समितिका संयोजक शम्भु प्रधानले बताए । 
लोकतन्त्र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले गरेको सशस्त्र आन्दोलनको क्रममा २०३० साल चैत्र ३ गते विराटनगर तत्काली राजा वीरेन्द्रलाई गरिएको बम आक्रमणको क्रममा श्रेष्ठ पक्राउ भएका थिए । शहीद श्रेष्ठलाई चरम यातनासहित २०३५ साल माघ २६ गते भिमनहर व्यारेजमा लगि तत्कालीन पञ्चायती व्यवस्थामा गोली हानी हत्या गरिएको थियो । उनै शहीद भीमनारायण श्रेष्ठको सम्मानमा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको पहलमा २०५५ सालबाट प्रतियोगिता शुरु गरिएको थियो । २०५४ सालमा वार्डकप नामबाट शुरु गरी २०५५ सालबाट शहीद भिमनारायण श्रेष्ठको नामबाट प्रतियोगिता शुरु गरिएको आयोजक समितिका प्रचारप्रसार उपसमितिका संयोजक विदुर खवासले जानकारी दिए ।