शहीद भीमनारायण गोल्डकप शुरु

Published On: In Category: खेल / मनोरन्जन
शहीद भीमनारायण गोल्डकप शुरु


धनकुटा । १३ औं शहीद भीमनारायण आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मोरङका सांसद डिकबहादुर लिम्बुले गरेका थिए । सो अवसरमा सांसद लिम्बुले लोकतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुती दिनु हुने शहीदको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको सफलताको शुभकामना दिदै मोरङ कांग्रेसका तर्फबाट नगद २१ हजार सहयोग गरेका छन् । सांसद लिम्बुले अघिल्लो प्रतियोगितामा पनि नगद ५० हजार सहयोग गरेका थिए । सांसद लिम्बुले प्रतियोगिता सञ्चालनका लागि निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै विशिष्ठ अतिथि झापाका सांसद उषा गुरुङले प्रतियोगिताका सफलताको कामना गर्दै शहीद प्रति श्रद्धाञ्जली व्यक्त गरिन । सो अवसरमा सांसद गुरुङले पाँच हजार नगद सहयोग गरिन । यस्तै शहीदपुत्र तथा सांसद मनोहरनारायण श्रेष्ठले शहीदको नाममा फुटवल प्रतियोगिता शुरु गरेकोमा वडा नं. ६ का तत्कालीन वडाध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलाई धन्यवाद दिदै आफ्ना पिता देशमा लोकतन्त्र स्थापनाका लागि तत्कालीन व्यवस्थाले अनेक लोभलालच दिदा पनि त्यसलाई परित्याग गर्दै अमानवीय यातना सहेर आफ्नो ज्यानको आहुती दिएको बताए । ्आयोजक समितिका अध्यक्ष शम्भु प्रधानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका सभापति टंक चुवान, धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत र प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले शहीद श्रेष्ठको योगदानको प्रशंसा गर्दै प्रतियोगिता निरन्तरताका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 
प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली बेलवारी एफ.सी. मोरङ घरेलु टोली धनकुटालाई पराजित गर्दै विजयी भएको छ ।
घरेलु मैदानमा स्थानीयको समर्थन पाए पनि धनकुटा–११ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै मोरङ बिजयी हुन सफल भयो । विजयी मोरङका दिपक राईले खेल सुरुवातको ९ र १७ औं मिनेटमा दुई गोल गरेर म्यान अफ दि म्याच भए । यस्तै वेलवारीकै निसान लिम्बुले २७ औ मिनेटमा र खेल सकिन अन्तिम मिनेटमा ‘इन्जोरी टाईम’ मा वेलवारीका पुजन उपरकोटीले गोल गोल गरी ४–१ ले बिजयी बनेको हो । धनकुटाका अविनास राईले खेलको २ मिनेट बाँकी हुदाँ टिमको खाता खोल्दै सान्त्वना गोल गरेको थिए । म्यान अफ दि म्याच राईले २ हजार ५ सय नगद पुरस्कार पाएका छन ।
यस्तै दोस्रो दिनको प्रतियोगितामा गोधुली क्लव सुनसरीलाई ट्राईवेकरमा हराउँदै झापाको विर्ता युथ क्लव सेमिफाईनल प्रवेश गरेको छ ।
बुधबार भएको खेलको सुरु भएको २० औं मिनेटमा गोधुलीको दोर्जे तामाङले पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यसपछि मध्यान्तरसम्म कुनै गोल दुवै पक्षबाट हुन सकेन । तर, मध्यान्तरपछिको २६ औं मिनेटमा ‘डिवक्स एरिया’ भित्र गोधुलीका सुरज सुनारको ‘हेण्ड’ भएपछि बिर्ताले पाएको ‘पेनाल्टी’ अवसरलाई चर्चित खेलाडी कर्ण लिम्बुले सदुपयोग गर्दै गोल गरेर १–१ गोलको वरावरी गरेको थियो ।
त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन । खेल बराबरी भएपछि खेलको निर्णय ट्राईवेकरबाट गरियो । ट्राईवेकर भने सुनसरीका लागि दुर्भाग्य सावित भयो । ट्राईवेकरमा ४–१ गोल अन्तरले बिर्ता बिजयी भयो । ट्राईवेकरमा झापाका कर्ण लिम्बु, बुद्ध चेम्जोङ्ग, रवी थापामगर र सुमिन मौनालीले गोल गरेका थिएभने गोधुलीका निराजन खड्काले मात्र गोल गरे । ट्राईवेकरमा गोधुलीका दोर्जे तामाङको हानेको वल विपक्षीका गोलरक्षकले समाते भने अर्का खेलाडी सुशिल राईले हानेका बल पोष्ट माथिबाट बाहिरिएको थियो ।
पहिलो चरणको विजेता बेलवारी र बिर्ता क्लव सेमिफाईनलमा प्रवेश गरेको आयोजक समितिका रोसन श्रेष्ठले जानकारी दिए । अब बेलवारीको खेल काठमाडौंको ब्वाईज युनियनसँग र बिर्ताको खेल गत वर्षको विजेता भुटानको विआरसी क्लवसँग हुने जानकारी आयोजक समितिका अध्यक्ष शम्भु प्रधानले दिए ।