वरिष्ठ पत्रकार राईको शल्यक्रिया सफल

Published On: In Category: जिल्ला समाचार
वरिष्ठ पत्रकार राईको शल्यक्रिया सफल

काठमाण्डौ । नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक सभापति तथा वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईको हिजो शहीद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र, बाँसवारी काठमाडौैमा गरिएको मुटुको शल्यक्रिया सफल भएको छ ।
गत भदौं पहिलो हप्ता वरिष्ट मुटुरोग विशेषज्ञ डा. मानबहादुर केसीलाई स्वास्थ्य परिक्षण गर्दा यथाशीघ्र शल्यक्रिया गर्न भनेपछि वरिष्ठ पत्रकार राईलाई गत भाद्र १४ गते अस्पताल भर्ना गरिएको थियो । राईको वरिष्ठ मुटुरोग सर्जन डा. विजय गोपाल राजबंशीको नेतृत्वको चिकित्सकहरुले हिजो विहान ८ वजे सफलतापूर्वक शल्यक्रिया गरेको राईकि पत्नी तथा पत्रकार हिमा चेम्जोङले बताईन ।
आर्थिक अवस्था कमजोर भएका कारण समयमा नै शल्यक्रिया गर्न नपाएका राईको उपचारका लागि पत्रकार महासंघ धनकुटा शाखाले सरोकारवाला निकायहरुसँग सहयोगका लागि अनुरोध गरेका थिए । महासंघको आग्रहपछि राईको उपचारका लागि आर्थिक सहयोग जुटेको थियो । र अहिले पनि जुट्ने क्रम जारी रहेको महासंघ धनकुटा शाखाका सभापति राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।
पत्रकार महासंघका केन्द्रिय उपाध्यक्षसमेत भईसकेका राईको सहयोगका लागि पत्रकार महासंघ केन्द्रिय समिति र धनकुटा शाखा, ते¥हथुम शाखा, संखुवासभा शाखा, ओखलढुङ्गा शाखा, सुनसरी शाखा, नेपाल प्रेस युनियन केन्द्रिय समिति र धनकुटा शाखा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, किरात पत्रकार संघ, चुङवाङ सेवा समाजलगायत विभिन्न सामाजिक संघसंस्थाहरु सक्रिय भएको पत्रकार महासंघ धनकुटाका पूर्व सभापति तथा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले बताए । 
शल्यक्रियाको क्रममा पत्रकार राईलाई सशस्त्र प्रहरी बलका एसएसपी गणेश ठाडाको सहयोगमा सशस्त्र प्रहरी बलका दिपक खड्का र बाशुदेव कार्की र धनकुटा अस्पताल विकास समितिका अध्यक्ष सुनिलकुमार डंगोलले रगत दिएका थिए ।
पत्रकार राई पत्रकार महासंघ धनकुटा शाखा गठन गर्दा धनकुटामा पत्रकारहरुको आवश्यक संख्या नपुगेर संखुवासभा, भोजपुर, ते¥हथुमका पत्रकारहरुलाई संगठित गरेर शाखा गठन गरेका थिए । महासंघका पूर्व केन्द्रिय उपसभापति, प्रेस यूनियनका पूर्व केन्द्रिय उपाध्यक्ष प्रेस काउन्सिल नेपालका पूर्व सदस्य समेत भैसकेका राई धनकुटाको जेठो पत्रिका जनविश्वास साप्ताहिका संस्थापक सम्पादक हुन् ।