देशकै सफा शहरमा धनकुटा घोषणा

Published On: In Category: पर्यटन: सुन्दर नेपाल
 देशकै सफा शहरमा धनकुटा घोषणा


धनकुटा, १८ साउन । नेपाल सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । यसैगरी प्रदेश नं. १ कै अर्को पहाडी नगर इलाम दोस्रो सफा शहर घोषण भएका छन् भने तेस्रो सफा शहरमा हेटौँडा घोषित भएका छन् । यो घोषणासँगै प्रथम घोषित धनकुटा नगरपालिकाले १० लाख, दोस्रो घोषित इलाम नगरपालिकाले सात लाख र तेस्रो घोषित हेटौँडाले चार लाख नगद पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।
नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २ सय ६३ नगरपालिकाको फोहोर व्यवस्थापनको अध्ययन गरेर धनकुटालाई सबैभन्दा सफा शहरका रूपमा पुरस्कृत गरेको हो । आव २०७३ । ७४ को वार्षिक कार्यक्रमअनुसार नगरमा जम्मा भएका फोहरमैलाको व्यवस्थापनमा विशेष योगदान गरेका उत्कृष्ट तीनवटा नगरपालिकालाई सफा शहरका रुपमा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । गत आव २०७२ । ७३ मा वालिङ्ग नगरपालिका प्रथम भएका थिए । यस्तै धनकुटा दोस्रो र इलाम तेश्रो सफा शहर घोषणा भएको धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले जानकारी दिए । 
धनकुटा नगरमा रहेको डम्पिंग साईट व्यवस्थित हुनु सफा शहर घोषणा हुनलाई सहयोगी भएको वातावरण अधिकृत उपेन्द्र खनालले बताए । उनले विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरु, अधिकृत तथा वातावरण अधिकृतहरु अध्ययनका लागि धनकुटा आउने गरेको जानकारी दिए । अन्य शहरका डम्पिंग साइट दुर्घन्धले जानै सकिदैन । तर, धनकुटाको डम्पिंग साई पर्यटकीयस्थलका रुपमा विकास भईरहेको खनालले बताए । यहाँ घुम्नका लागि दैनिकजसो मानिसहरु आउने गरेको जानकारी दिए ।