अग्रज पत्रकारलाई पुरस्कृत गर्दै साप्ताहिकले वार्षिकोत्सव मनाए

Published On: In Category: जिल्ला समाचार
अग्रज पत्रकारलाई पुरस्कृत गर्दै साप्ताहिकले वार्षिकोत्सव मनाए

धनकुटा, १७ साउन । धनकुटाबाट प्रकाशित कान्छो साप्ताहिक पत्रिका अग्रदीप साप्ताहिकले पहिलो वार्षिकोत्सव मनाएको छ । सो अवसरमा साप्ताहिकले ६ जना लेखकलाई सम्मान र एक जना अग्रज पत्रकारलाई पुरस्कृत गरेको छ । सम्मानित हुने लेखकहरुमा प्रा. डा. शम्भु खतिवडा, पत्रकार खगेन्द्र घिमिरे, अधिकारकर्मी विदुर सुवेदी, अधिवक्ता गणेस दाहाल, ललित विश्वकर्मा र हुकुम दाहाल छन । पत्रिकालाई लेखरचना पठाएर सहयोग गरेको भन्दै लेखकलाई सम्मान गरिएको साप्ताहिकका सम्पादक÷प्रकाशक सोविस चेम्जोङले जानकारी दिए । 
यस्तै सो अवसरमा अग्रज पत्रकार सिद्धराज राईलाई पुरस्कृत गरेको छ । साप्ताहिकले नागरिक दैनिकका स्थानीय सम्वाददाता सिद्धराज राईलाई ‘अग्रदीप संरक्षक क्रियाशील पत्रकारिता पुरस्कार’ बाट नगद पाँच हजार एक सय ५५ रुपैयासहित पुरस्कृत गरिएको हो । यो वर्ष पत्रिकाले जिल्लाको कृषि र पर्यटन सम्बन्धि समाचार बढी प्रकाशित गरेबापत पुरस्कृत गरिएको थियो ।
त्यस्तै नियमित लेखररचना उपलब्ध गराउँने छ जना लेखकलाई पनि अग्रदीप पत्रिकाले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्राध्यापक डा. शम्भु खतिवडा, मानव अधिकारकर्मी विदुर सुवेदी, पत्रकार खगेन्द्र घिमिरे, अधिवक्ता गणेस दाहाल, सामाजिक अभियान्ताहरु ललित विश्वकर्मा र हुकुम दाहाल छन ।
सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् पूर्वाचल संयोजक गणेश पोखरेलले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले महासंघले पत्रकारहरुको हकहितका लागि दवावमूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । प्रमुख अतिथि पोखरेलले मोफसलका पत्रिकाहरुको समस्या समान प्रबृत्तिको हो भन्दै पत्रिकालाई बचाउन नयाँ नयाँ योजना ल्याउनु पर्ने धारणा व्यक्त गरे । अर्को प्रसंगमा उनले पत्रकारको हितका लागि श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा पहल गरिरहेको जानकारी दिए ।
सो अवसरमा सम्मानित लेखक प्रा. डा. शम्भूप्रसाद खतिवडाले पत्रिका राजनीतिमा भन्दा अन्य विषयलाई बढी स्थान दिएकोमा प्रसंशा व्यक्त गर्दै पत्रिका निरन्तरताका लागि शुभकामना दिए । उनले धेरै पत्रिका केहि समय निस्केर बन्द हुने भन्दै पत्रिकाको टिमवर्क राम्रो भएकाले निरन्तरता पाउने विश्वास व्यक्त गरे । 
त्यस्तै पत्रकार महासंघ शाखा अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले पत्रिका निकाल्न भन्दा निरन्तरता दिन समस्या रहेको बताउँदै स्थानीय सञ्चारमाध्यम सञ्चालन गर्न स्थानीय तहसँग सहयोगका लागि पहल गर्ने जानकारी दिए । उनले स्थानीय स्तरमा प्रकाशन गर्नुपर्ने विज्ञापन स्थानीय पत्रिकामार्फत गर्नका लागि पहल गर्ने बताए ।
सो अवसरमा पुर्व केन्द्रिय उपाध्यक्ष तथा पत्रकार महासंघ धनकुटाका संस्थापक सञ्जयसन्तोषी राईले विज्ञापन पत्रिकाको अधिकार भएकाले विज्ञापनका लागि कर्मचारीको गुलामी गर्न नसकिने बताए । पत्रिकाका संरक्षक तथा नवनिर्वाचित धनकुटा नगरपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रलाल तामाङले स्थानीय पत्रिका सञ्चालनका लागि नगरपालिकाले दिईने सार्वजनिक सूचनालगायतका विज्ञापन स्थानीय पत्रिकामा दिन पहल गर्ने आश्वासन दिए । उनले जिल्लाका हरेक व्यावसायीले सानो रकम विज्ञापन दिएर वा ग्राहक बनिदिएर स्थानीय पत्रिका जोगाउनु पर्ने धारणा व्यक्त गरे ।
यस्तै महासंघका निवर्तमान शाखा अध्यक्ष खगेन्द्र घिमिरे, प्रेस युनियनका अध्यक्ष यानिन्द्र तिगेला, फोनिजका अध्यक्ष सन्तवीर लामा, साझा सञ्चारका अध्यक्ष भेषराज कटेल, लेखक विदुर सुवेदीलगायतले पत्रिकाको निरन्तरताका लागि शुभकामना दिए । 
कार्यक्रमको सञ्चालन देवकला कार्कीले र पत्रिकाका वारेमा कार्यकारी सम्पादक सन्तोष रुचालले जानकारी दिएका थिए ।