पूर्व क्याम्पस प्रमुख श्रेष्ठको निधन

Published On: In Category: जिल्ला समाचार
पूर्व क्याम्पस प्रमुख श्रेष्ठको निधन


काठमाडौं । धनकुटा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शिवकुमार श्रेष्ठको हिजो मंगलवार काठमाडौंमा निधन भएको छ । धनकुटा नगरपालिका वडा नं. ६ सिरानबजार निवासी ८२ वर्षीय श्रेष्ठको हिजो विहान ११.४५ मा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको हो । स्व. श्रेष्ठ लामो समयदेखि फेक्सोको क्यान्सर पीडित थिए । स्व. श्रेष्ठको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थामा अध्यक्ष लोकन्द्रकुमार श्रेष्ठ (इश्वर) ले जानकारी दिए ।
स्व. श्रेष्ठ क्याम्पसमा अध्यापन गर्नुअघि धनकुटा बजार पञ्चायतका प्रधानपञ्च समेत भएका थिए । पटकपटक गरी ३ पटक धनकुटा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख भएका श्रेष्ठ क्याम्पस प्रमुख रहदाँ धनकुटा क्याम्पस शैक्षिक केन्द्रका रुपमा परिचित रहे । क्याम्पसको शैक्षिक गुणस्तर बृद्धिमा स्व. श्रेष्ठको महत्वपूर्ण योगदान रहेको क्याम्पसका उपप्राध्यापक ठाकुर बराल बताउँछन् । धनकुटा बहुमुखी क्याम्पसको हालको संरचना निर्माणमा स्व. श्रेष्ठको महत्वपूर्ण योगदान रहेको स्थानीय सत्यनारायण श्रेष्ठले बताए । स्व. श्रेष्ठका १ श्रीमति, २ छोरा र १ छोरी छन् । स्व. श्रेष्ठका जेठा छोरा सञ्जय श्रेष्ठ हाल भक्तपुर बहुमुखी क्याम्पसमा अध्यापन गर्दै आएका छन् ।
स्व. श्रेष्ठको पार्थिक शरीर धनकुटामा ल्याएर दाहसंस्कार गर्नुपर्ने स्व. श्रेष्ठका शिष्यहरुको चाहना रहेता पनि पारिवारिक वाध्यताले उनको पशुपति आर्यघाटमा मंगलवारकै दिन दाहसंस्कार गरिएको छ ।