कांग्रेसकोतर्फबाट धनकुटा नगरका उम्मेद्वारी घोषणा

Published On: In Category: जिल्ला समाचार
कांग्रेसकोतर्फबाट धनकुटा नगरका उम्मेद्वारी घोषणा


धनकुटा । आशन्न स्थानीय तहको निर्वाचनका लागी नेपाली कांग्रेस धनकुटाले उम्मेद्वार घोषणासभाको आयोजना गरी धनकुटा नगरपालिकाका लागि सबै पदका उम्मेद्वारी घोषणा गरेको छ । घोषणा गरेअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका कोषाध्यक्ष तथा तरुण दलका जिल्ला अध्यक्ष दिनेश राई र उपप्रमुख पदमा रेणु श्रेष्ठसहित वडा समितिका अध्यक्ष तथा सदस्यहरु गरी ५२ जना उम्मेद्वार घोषणा गरेको छ ।
घोषणा भएअनुसार वडा नं १ मा रुकमान तामाङ वडाध्यक्ष, खुल्ला सदस्यहरुमा नगेन्द्र काफ्ले र शेह वहादुर शाही, महिला सदस्य मनकला लिम्बु र दलित महिला सदस्यमा कमला शिवालाई उम्मेद्वार घोषणा गरेको छ । यस्तै वडा नं. २ का वडाध्यक्षमा पृथसिंह दाहाल, खुल्ला सदस्यहरुमा पुरन राई र डिल्ली वहादुर दलार्मी, महिला सदस्यमा दुर्गा ढकाल बस्नेत र दलित महिला सदस्यमा निर्मला दर्नाललाई उम्मेद्वार बनाएको छ । यस्तै वडा नं. ३ को वडाध्यक्षमा पदम भण्डारी, खुल्ला सदस्यहरुमा लोकेन्द्र पराजुली, बासु भण्डारी, महिला सदस्य निर्मला मिश्र र दलित महिला सदस्यमा प्रमिला रसाईली छन् । यस्तै वडा नं. ४ को वडाध्यक्षमा महेश श्रेष्ठ, खुल्ला सदस्यहरुमा गोविन्द्र आठपहरिया, प्रकाश तामाङ (टेक), महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा दुर्गा विश्वकर्मा छन् ।
यस्तै वडा नं. ५ को वडाध्यक्षमा धनकुमार आठपहरिया, खुल्ला सदस्यहरुमा पार्टीका नगर सभापति रोशन श्रेष्ठ, गोविन्द राई, महिला सदस्यमा सीता प्रधान र दलित महिला सदस्यमा अम्विका परियार छन् । यस्तै वडा नं. ६ को वडाध्यक्षमा नरेश श्रेष्ठ, खुल्ला सदस्यहरुमा मिलन खड्की, बेणु वस्नेत, महिला सदस्यमा हिरा देवी राई र दलित महिला सदस्यमा मुना रम्तेललाई उम्मेद्वारु िदिएको छ । यस्तै वडा नं. ७ मा वडाध्यक्षमा मोहनकुमार श्रेष्ठ, खुल्ला सदस्यहरुमा कुमार दाहाल, केदार श्रेष्ठ, महिला सदस्यमा पार्वती राई र दलित महिला सदस्यमा टिका विश्वकर्मालाई उम्मेदवार बनाएको छ । यस्तै वडा नं. ८ को वडाध्यक्षमा मानुभक्त राई, खुल्ला सदस्यमा लायन सिंह राई, दिलबहादुर राई, महिला सदस्यमा आज्ञाश्वरी राईलाई उम्मेदवारी दिएको छ । 
यस्तै वडा नं. ९ को वडाध्यक्षमा सिताराम न्यौपाने खत्री, खुल्ला सदस्यहरुमा मकरध्वज राई, तिलक प्रधान, महिला सदस्यमा सवित्रा खत्री र दलित महिला सदस्यमा हरियामा विक छन् । यस्तै वडा नं. १० बाट वडाध्यक्षमा भूपलाल तामाङ, खुल्ला सदस्यहरुमा हर्क वहादुर विष्ट, सुरेश कुमार श्रेष्ठ, महिला सदस्यमा शान्ता भट्टराई र दलित महिला सदस्यमा बिमला शिवा छन् । 
नेपाली कांग्रेस धनकुटा नगर सभापति रोशन श्रेष्ठको अध्यक्षतामा सम्पन्न उम्मेद्वारी घोषणासभामा उम्मेद्वारलाई सांसद मनोहरनारायण श्रेष्ठ, पूर्वसांसद लिला सुब्बा, जिल्ला उपसभापति नवीन किशोर शाक्य, महासमिति सदस्य तथा नेता आनन्दसन्तोषी राई, धनकुटा नगरपालिकाका पूर्वप्रमुख वाङ्दी लामा, सचिव विजयसन्तोषी राई, क्षेत्रीय सभापति जितेन्द्र राई, अग्रज नेता निर्मलकुमार कर्माचार्यलगायत अग्रज नेताहरुले फुल माला र टिका लगाई विजयको शुभ कामना दिएका थिए । 
सो अवसरमा प्रमुख अतिथि सांसद मनोहरनारायण श्रेष्ठले नगरको समृद्धी र विकासका लागि नेपाली कांग्रेसका उम्मेद्वारलाई मतदान गर्न अनुरोध गरे । उनले कांग्रेसले जे बोल्छ त्यो गर्छ र जे गर्छ त्योमात्र बोल्ने बताउँदै देशमा राणाशासनविरुद्ध आन्दोलन, पञ्चायतविरुद्धको जनआन्दोलन र गणतन्त्रका लागि भएको आन्दोलन कांग्रेसको नेतृत्वमा भएको बताए । उनले दुई कम्युनिष्ट पार्टीका दुईदुई जना प्रधानमन्त्री हुदाँ संविधान जारी गर्न नसकेको उल्लेख गर्दै कांग्रेस पहिलो पार्टी भई स्व. सुशिल कोईराला प्रधानमन्त्री भएपछि मात्र नेपाली जनताले संविधान पाएको र यसको कार्यान्वयन र आर्थिक उन्नतीका लागि कांग्रेसलाई मतदान गर्न अनुरोध गरे । 
यस्तै नगरप्रमुखका उम्मेद्वार दिनेश राईले नगरपालिकालाई सुशासन र भ्रष्टाचारमुक्त बनाउने बताए । उनले हाल कायम रहेको एकीकृत सम्पत्ति कर बढी भएको गुनासो आईरहेको तर्फ इंगित गर्दै त्यसमा पुनरावलोक गर्ने बताए । उनले नगरलाई समृद्ध बनाउन विकासका योजना प्रस्तुत गर्दै आफु विजयी भए नगरप्रमुख भएवापत पाउने पारिश्रमिक नगरका गरिव तथा असहाय छात्रछात्राको लागि कोष बनाएर खर्च गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पूर्व नगरप्रमुख वाङ्दी लामाले आफु एमालेबाट नगरप्रमुखमा विजयी भएको जानकारी दिदै एमालेको छुट र अन्धराष्ट्रवादको राजनीतिबाट विरक्त भएर पार्टी परित्याग गरेको जानकारी दिदै कांग्रेसको विजयका लागि शुभकामना दिए । सो अवसरमा एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका बीरबहादुर आठपहरिया राईले एमालेले कुरा एउटा र काम अर्को गर्ने गरेको धारणा राखे ।
सो अवसरमा उपप्रमुखका उम्मेद्वार रेणु श्रेष्ठ र वडा अध्यक्षका उम्मेद्वार मध्ये वडा नं. ४ का वडाध्यक्षका उम्मेद्वार महेश श्रेष्ठ र वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मोहन श्रेष्ठले नगरलाई नमूना नगर बनाउने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा एमालेलगायत पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेको नेता तथा कार्यकर्ताहरुलाई फुलमाला र टिका लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य उपसभापति नवीनकिशोर शाक्यले गरेका थिए । नगर सभापति रोशन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव विजयसन्तोषी राईले गरेका थिए ।
घोषणासभा शुरु हुनु अघि नेपाली कांग्रेस पार्टी कार्यालयबाट शुरु भएको सयौंको विशाल जुलुशले बजार परिक्रमा गरेका थिए । पञ्चेवाजागाजा, लाखे नाच, धिमे वाजा तथा जातीय झाँकीसहितको सो जुलुश चुवाको बोटमा आएर सभामा परिणत भएको थियो ।