ज्योतिष बाौद्धधर्मशास्त्र सम्वन्धि तीन दिने लामा गुरुहरुको तालिम शुरु

Published On: In Category: जिल्ला समाचार
ज्योतिष बाौद्धधर्मशास्त्र सम्वन्धि तीन दिने लामा गुरुहरुको तालिम शुरु

सन्तवीर लामा
धनकुटा १५, बैशाख । 
एक नम्वर प्रदेश भित्र रहेका बौद्धधर्म मान्ने समुदायका लामागुरुहरुलाई बौद्धधर्मसँग सम्वन्धि ज्योतिष शास्त्रमा प्रशिक्षित गराउने उद्देश्यले हिलेमा तीन दिने बौद्ध (चि) प्रशिक्षण तथा मणी (लुङ) आज शुक्रवारदेखि शुरु भएको छ । 
नेपाल तामाङ लामा घेदुङ केन्द्रिय समितिको आयोजना र जिल्ला घेदुङ र म्हानीपा घेदुङको स्थानीय व्यवस्थापनमा शुरु भएको बौद्ध (चि) प्रशिक्षण तथा मणी (लुङ) आगमन कार्यक्रममा यहाँ बसोवास गर्ने १ सय ५० जना लामा गुरुहरु सहभागी भएका छन् । प्रशिक्षण कार्यक्रममा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटाका बौद्धधर्म लामा गुरुहरु सहभागी भएका छन् ।
तीन दिने कार्यक्रमको प्रमुख प्रशिक्षक घेदुङका धर्मगुरु खेन्पो सोनाम ग्युरमे बल तामाङ, सहायक प्रशिक्षकको रुपमा लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्देन लामा र महासचिव लामा मणीकुमार मोक्तान रहेका छन् । प्रशक्षिणमा तामाङ समुदायले मनाउने सोनाम ल्होछार, मञ्जुश्री पात्रो अनुसारको नयाँ वर्ष मनाउने सन्दर्भ, ल्हो गणना पद्धती, बौद्ध ज्योतिष पात्रो अथवा सोनाम ल्होतोक अनुसार दशाग्रह हेर्ने, देशविदेश जाँदा वा शुभ कार्य गर्दा साईत हेर्नेलगायतका वारेमा प्रशिक्षित गरिने घेदुङ प्रदेश नं.१ का सचिव निरेन तितुङले बताए ।
नेपाल तामाङ लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्देन लामाको अध्यक्षतामा सम्पन्न तिन दिने प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा घेदुङका केन्द्रिय सदस्य लालचन्द्र गोङ्वा, पूर्व केन्द्रिय सल्लाहकार वीरवहादुर तितुङ, सचिव निरेन तामाङ, घेदुङ जिल्ला अध्यक्ष सिताराम तामाङ, सल्लाहकार वुद्ध तितुङ, तामाङ संचार समूहका केन्द्रिय सदस्य एवं घेदुङका जिल्ला सचिव सन्तवीर मोक्तान, जिल्ला सदस्य फुर्वा तामाङ, म्हानीपा घेदुङका जिल्ला उपाध्यक्ष पेमाकुमारी लामालगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए । सो तालिम हिले वजारस्थित थुप्तेन देक्षेन छ्योलिङ गुम्वामा भैरहेको छ ।