भूकम्पपीडितलाई पहिलो चरणको अनुदान रकम वितरण शुरु

Published On: In Category: जिल्ला समाचार
भूकम्पपीडितलाई पहिलो चरणको अनुदान रकम वितरण शुरु

 

नारायण राई
धनकुटा । २०७२ बैशाख १२ मा आएको विनाशकारी भूकम्पबाट घर भत्किएका भूकम्पपीडितहरुलाई घर निर्माणका लागि पहिलो चरणको अनुदान रकम बितरण शुरु गरिएको छ । नेपालको १७ जिल्लामा दोस्रो चरणको अनुदान  वितरण कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकाका ४ सय २६ जना भूकम्पपीडितहरुलाई अनुदान उपलब्ध गराउन शुरुवात गरिएको हो ।
धनकुटा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर ४ किस्तामा घर निर्माणका लागि प्रति घर तीन लाख रुपैया उपलब्ध गराउन पीडितहरुसँग सम्झौता शुरु गरेको छ ।
अनुदान सम्झौता पुस्तिका वितरण कार्यक्रमको एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले पीडितलाई पुस्तिका वितरण गरेर उद्घाटन गरेका थिए । सो अवसरमा उनले रकम पचाउन घर नभत्किएकोमा पनि भत्किएको भनेर झुटा विवरण दिने वा भत्केपनि अर्को बस्न लायक घर भए ढाँटेर रकम लिएको खण्डमा निजलाई सरकारी बक्यौता सरह कारवाही गरी रकम असुल उपर गरिने चेतावनी दिए ।
कार्यक्रमका अध्यक्ष तथा धनकुटा नगर कार्यपालिकाका कार्यकारी अधिकृत तीर्थप्रसाद धितालले पहिलो किस्तावापत प्राप्त पहिलो किस्ता ५० हजार रकमले घरका लागि जमिन सम्याउने लगायतको कार्य सम्पन्न गर्नुपर्ने बताए । उनले प्राविधिकको मूल्यांकनका आधारमा दोस्रो किस्ता एक लाख ५० हजार, तेस्रो ७५ हजार र घरमा सोलार राखेपछि अन्तिम किस्ता २५ हजार उपलब्ध गराउने जानकारी दिए । पहिलो चरण अन्तर्गत घर निर्माणका लागि राष्ट्रिय बाणिज्य बैंक मार्फत् १२ करोड ७८ लाख रुपैंया निकासा गरिने धितालले जानकारी दिए ।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधि देवनारायण यादवले झुटा विवरण पेश गरेर लिएको रकम फिर्ता हुने चेतावनी दिए । 
कार्यक्रमका जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटाले पहिलो चरणको राहतका लागि मन्त्रालयले दुई करोड निकासा आएको जानकारी दिए । उनले भूकम्पमा परेर भत्किएको भनि माग भई आएकोमा सिफारिस गरिएका ४ हजार ४ सय ९२ जना मध्ये दोस्रो चरण गरेर जिल्लाका साविक ५ गाबिस बाहेक २ हजार ४ सय पीडितहरुको नाम स्वीकृत भएर आएको जानकारी दिए ।
यस्तै पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले अनुदान वापत प्राप्त रकमबाट घर निर्माण अपुग हुने बताउँदै नगरपालिकाले नक्सा बनाउन र नक्सापास वापतको रकम मिनाहा गर्नुपर्ने धारणा राखे ।