विभिन्न पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश

Published On: In Category: राष्ट्रिय समाचार
 विभिन्न पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश

               
धनकुटा २८ चैत्र । विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ क्षेत्रीय समितिको आयोजनामा भेडेटारमा आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा खम्वुवान मुक्ति मोर्चाका जिल्ला अध्यक्ष नेपालधन राईको नेतृत्वमा सम्पूर्ण २३ जनाको जिल्ला कमिटीसहित ५ सय ५३ जना कांग्रेसमा प्रवेश गरेका छन् । राईको नेतृत्वमा जिल्ला कमिटीले अस्ती २६ गते पार्टी परित्याग गरेको जानकारी प्रेस विज्ञप्ती प्रकाशन गरी दिएका थिए । 
त्यस्तै निर्देश लिम्बुको नेतृत्वमा संघीय समाजवादी फोरमबाट ६६ जना, आनन्द लिम्बुको नेतृत्वमा नेकपा एमालेबाट १९ जना र सुभाष राईको नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट ७ जना कांग्रेस प्रवेश गरेका छन् ।  
यसरी विभिन्न परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरुलाई पार्टीका केन्द्रिय सदस्य तथा सांद् भिष्मराज आङ्देम्बे, कांग्रेस धनकुटाका निर्वमान सभापति तथा सांसद मनोहरनारायण श्रेष्ठ,  सांसद अञ्जना ताम्ली, सभापति अग्नी पौडेल, पूर्व सभापतिद्वय हरिकुमार राई, हरी अधिकारी, पूर्व सभासद् लिला सुब्बा, महासमिति सदस्यद्वय आनन्दसन्तोषी, अजितनारायणसिंह थापा, क्षेत्रीय सभापति जितेन्द्र रुम्दालीलगायतले टिका तथा खादाँ लगाई स्वागत गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि आङ्देम्बेले नवप्रवेशीहरुलाई स्वागत गर्दै जिल्ला समितिलाई सम्मानसाथ उचित स्थान दिन आग्रह गरे । प्रमुख अतिथि आङ्देम्बेले आदिवासी जनजाति, मधेशी, दलित तथा पिछडिएकाहरुको हित कांग्रेसले मात्र गर्ने बताए । उनले झापामा निर्माणाधीन आदिवासी रंगशालाको नाम एमालेका अध्यक्ष केपीलेले परिवर्तन गरी मदन भण्डारी रंगशाला राखेर आदिवासी जनजातिको अपमान गरेको आरोप लगाउँदै एमालेबाट जनजाति मधेशी र दलितको हित नहुने बताए । उनले यस क्षेत्रबाट वारम्वार एमालेलाई सांसद तथा स्थानीय निकायमा विजयी गरेर पढाएकाले समुचित विकास नभएको बताउँदै विकासका लागि कांग्रेसका उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।
यस्तै सांसद मनोहरनारायण श्रेष्ठले कम्युनिष्ट गरिवीमा मात्र विस्तार हुने हुनाले कम्युनिष्टहरुले गरिवी नघटाउने जिकिर राखे । देश र जनताको सम्पन्नता कांग्रेसले मात्र गर्ने उनले बताए । उनले नेपालमा कम्युनिष्ट भन्नेहरु कम्युनिष्ट मुलुकहरु चीन, उत्तर कोरियामा जान नचाहने तर अमेरिका, युरोप र दक्षिण कोरियामा जान लाम लाग्ने गरेको बताए ।  
सो अवसरमा मोर्चाबाट प्रवेश गरेका नवप्रवेशी नेपालधन राईले आदिवासी जनजाति, दलितलगायतको हित नेपाली कांग्रेसबाटमात्र हुने देखिएकाले कांग्रेस प्रवेश गरेको बताए । उनले नेपालको विकासका लागि महान नेता वीपी कोईरालाले प्रतिपादन गरेका सिद्धान्तबाट प्रभावित भएर कांग्रेस प्रवेश गरेको बताए । आफुलगायत प्रवेश गरेका सबै कांग्रेसका आदर्श प्रति समर्पित भएको बताउँदै आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन दिनरात खटिने विश्वस्त दिलाए ।
सो अवसरमा सभापति अग्नी पौडेल, सांसद अञ्जना ताम्ली, पूर्व सभापति हरिकुमार राई, पूर्व सभासद् लिलासुब्बा, महासमिति सदस्यद्वय आनन्दसन्तोषी राई, अजितनारायण सिंह थापा, महाधिवेशन प्रतिनिधि कमोट फागोलगायतले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा अध्यक्ष पौडेलले राईलाई आमन्त्रित जिल्ला सदस्य पदमा मनोनयन गरे । यस्तै अन्य आगन्तुकहरुलाई पनि विभिन्न पदहरुमा मनोनयन गर्ने आश्वस्त पारे । जिल्ला सचिव विजयसन्तोषी राईले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय सदस्य बुद्ध तितुङले गरेका थिए । कार्यक्रम क्षेत्रीय सभापति जितेन्द्र रुम्दालीको सभापतित्वमा भएको थियो ।