निर्वाचन बहिस्कार गर्नेहरु समाप्त हुनेछन्ः महासचिव पोखरेल

Published On: In Category: राष्ट्रिय समाचार
निर्वाचन बहिस्कार गर्नेहरु समाप्त हुनेछन्ः महासचिव पोखरेल


धनकुटा ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले लामो समयपछि हुन गैरहेको स्थानीय तहको निर्वाचनमा सहभागी नभई बहिस्कार गर्नेहरुको अस्तित्व समाप्त हुने चेतावनी दिए । जनताको संघर्षबाट निर्माण गरिएको संविधानको कार्यान्वयनका लागि तथा केन्द्रिय तहमा रहदै आएको अधिकार स्थानीय तहमा ल्याउनको लागि एकमात्र विकल्प निर्वाचन भएकाले कोही भाग्न नसक्ने उनले बताए । 

पत्रकार महासंघ भवनमा प्रेस चौतारी नेपालले हिजो शनिबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिले निर्वाचन बहिस्कारको कुरा गरेपनि अन्तत सहभागी हुने ठोकुवा गरे । उनले लोकतन्त्रको अपरिहार्यता निर्वाचन भएकाले यसको विरोध लोकतन्त्र पक्षधरले गर्नै नसक्ने बताउँदै विरोध गर्नेहरु फाशिष्ट तानाशाही पक्षधर भएको बताए । 

मधेस केन्द्रित दलले संविधान संशोधनको कुरा उठाएर अस्थिरता सिर्जना गरिरहेका छन् । हिन्दी भाषालाई देशको कामकाजको भाषा बनाउन खोजेको आरोप लगाए । उनले कसैको दवावमा पहाड र तराईको छुट्टै राष्ट्रियता भन्ने गरेको आरोप लगाए । संविधान गतिशील हुने तर अरु कसैको दवावमा संविधान संशोधन नहुने महासचिव पोखरेलले बताए ।

नेपालले एउटा मात्रै देशसँग निर्भर भएर बस्न नहुने बताउँदै अन्य मुलुकसँग पनि पारस्परिक हितका लागि सम्बन्ध विस्तार गर्दै जानुपर्ने महासचिव पोखरेल बताए । भारत होस् वा अमेरिका र चीन नैे एकपक्षीय भएर नेपालको राजनीति तहननहस भएको र राष्ट्रनिर्माणको अभियान विग्रिएकोले एमाले सवै देशसँग राष्ट्रहितका लागि सम्बन्ध विस्तारको पक्षमा रहेको बताए । 
अर्को प्रसंगमा उनले एमालेमुक्त मधेस बनाउने अभियान चलाउने र निर्वाचनमा एमाले विरुद्ध अपवित्र गठबन्धन गर्ने तयारी भईरहेको बताए । उनले यसलाई एमालेले ठटेर मुकाविला गर्ने महासचिव पोखरेलले बताए ।

सो अवसरमा पत्रकार सञ्जयसन्तोषी राई, रमेशचन्द्र अधिकारी, नगेन्द्र राई, सिद्धराज राईलगाएर पत्रकारहरुले प्रश्न सोधेका थिए ।
प्रेस चौतारीका अध्यक्ष सन्तोष रुचालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई, प्रचार विभाग प्रमुख नैन रुचाल, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, एमालेका स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।