ब्लाष्ट दैनिकको लेखले धनकुटालाई होच्याएको भन्दै विरोध

Published On: In Category: जिल्ला समाचार
ब्लाष्ट दैनिकको लेखले धनकुटालाई होच्याएको भन्दै विरोध

ईश्वर थापा
धनकुटा, १३ चैत ।
धरानबाट प्रकाशित दैनिक पत्रिका ब्लाष्टमा आज आइतबार प्रकाशित ‘प्रदेश नं. १ को राजधानी इटहरी’ नामको लेखप्रति धनकुटा बजार व्यवस्थापन समितिले आपत्ति प्रकट गर्दै विरोध जनाएको छ  । पत्रिकाको लेखले धनकुटाविरुद्ध भ्रामक, कपोलकल्पित, मनगढन्त खालको सतही रुपमा नबुझी लेख प्रकाशन गरेको भन्दै धनकुटा बजार ब्यबस्थापन समितिले विरोध जनाउँदैँ प्रेस विज्ञप्ती जारी गर्दै माफी माग्नुपर्ने माग गरेका छन् ।
सो लेखमा सुनसरीका पत्रकार धनबहादुर पुरीले लेखमा संघीयताको राजधानी ईटहरी उपयुक्त हुने कारण दिदै आफ्नो लेखमा ‘धनकुटा यस कारण राजधानी हुंदैन’ भन्ने उपशीर्षकका धनकुटालाई होच्याउने खालका विचार प्रकाशन गरेका थिए । आइतबार धनकुटा सदरमुकाममा प्रेस विज्ञप्ती जारी गर्दै धनकुटा बजार व्यवस्थापन समितिले राज्यको पुनर्संरचनाको क्रममा संघीय राज्य कार्यान्यनको चरण चलिरहँदा संघीय राज्यको राजधानी तथा केन्द्र कहाँ रहने बहस उत्कर्षमा रहेको बेला दैनिकमा प्रकाशित धनबहादुर पुरीको एकात्मक ‘प्रदेशको राजधानी इटहरी’ लेखप्रति समग्र धनकुटावासीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
बिज्ञप्ती मार्फत् लेखक तथा पत्रकारले माफी नमागे पत्रिका बहिष्कार गर्ने सम्मका चेतावनी समितिले दिएको छ । धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लब श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा करिब २०० वर्षदेखिको खलंगा, गौडा हुदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामका रुपमा पूर्वको प्रमुख प्रशासनिक केन्द्र रहदै आएको छ । एक स्वच्छ, समुन्नत र भौतिक पूर्वाधारले भरिपूर्ण धनकुटा जिल्लालाइ पुरीको लेखमार्फत संघीय राज्यको राजधानी धनकुटा हुन सक्दैन भन्ने भ्रामक, कपोककल्पित, तथ्यहीन, हचुवाको भरमा मनगढन्ते तरिकाबाट प्रभावमा रहेर लेखिएको लेखले सम्पूर्ण धनकुटाबासीको आत्मसम्मानमा ठेस पुगेको बताइएको छ ।
यस्तै विज्ञप्तीमार्फत आधारहिन र तथ्यहीन लेखको खण्डन गर्दै पूर्वाग्रहपूर्ण लेखको लेखक र दैनिकका सम्पादकले यस लेखप्रति पत्रिकामार्फत खण्डन गरी समग्र धनकुटेली जनता समक्ष माफी माग्न आग्रह पनि गरिएको छ । यसो नगरेमा धनकुटा जिल्लामा ब्लाष्ट प्रकाशन बहिष्कार गर्ने सम्मको आन्दोलनमा जान बाध्य हुने र यसबाट उत्पन्न हुने असहज अवस्थाको जिम्मेवार प्रकाशन आफैँ हुनुपर्ने अध्यक्ष विप्लब श्रेष्ठले बताए ।