एक सय ३० वर्ष पुरानो सल्लेरी वनका रुख काट्न शुरु पुराना रुख हटाएर नयाँ ढंगले वैज्ञानिक वन व्यवस्थापन

Published On: In Category: राष्ट्रिय समाचार
एक सय ३० वर्ष पुरानो सल्लेरी वनका रुख काट्न शुरु पुराना रुख हटाएर नयाँ ढंगले वैज्ञानिक वन व्यवस्थापन

सन्तवीर लामा
धनकुटा ः जिल्ला सदरमुकाम धनकुटा वजारको शिरको ताजको रुपमा रहेको सल्लेरी वनलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने गरी पुराना रुख काट्न शुरु गरिएको छ । यहाँ रहेका रुखहरु १ सय ३० वर्ष पुराना भएको जिल्ला वन कार्यालयका प्रमुख कृष्णप्रसाद वस्तीले जानकारी दिए । ऐतिहासिक सल्लेरी राष्ट्रिय वनको वैज्ञानिक तवरले व्यवस्थापन गर्ने उद्देश्यले वन भित्रका धेरै पुराना सल्लाको रुख कटान गरेर हटाउन लागिएको प्रमुख वस्तीले बताए । उनले ९० प्रतिशत सल्ला प्रजातिको ठूला ठूला रुख रहेको र १० प्रतिसत मात्र अन्य प्रजातिहरु चिलाउने, जामुन, मलातो, सिरिसलगायतको रुखहरु रहेको बताएका छन् । उनले अनुत्पादक ढंगले १ सय ३० वर्ष भन्दा माथि उमेर पुगेको सल्लाका रुख राखेर राज्यलाई पनि फाईदा नहुने र वन क्षेत्रबाटै कोशी राजमार्ग गएकाले यातायातका सवारी साधन आवात जावत गर्दा समेत समस्या भएकाले पाको उमेरका सल्लाको रुख हटाउन लागिएको जानकारी दिए ।  
    उनले सल्लेरी राष्ट्रिय वन व्यवस्थापन योजना, ०७१ तयार भई कार्यान्वयनको चरणमा आउँदा यो वर्ष पहिलो लटमा ७९ वटा रुख काटिने बताए । उनले वनको इरेगुलर सेल्टरउड सिस्टम बमोजिम बाली चक्र ४० वर्ष रहेको, पुनरुत्पादक अवधि १० वर्ष तोकिएको बताए । उनले सल्लेरी राष्ट्रिय वन व्यवस्थापन योजना १० वर्षे अवधिको रहेको पनि जानकारी गराएका छन् । प्रमुख वस्तीले ४३.७३ हेक्टर क्षेत्रफलमा फैलिएको सल्लेरी वनमा वैज्ञानिक तवरले व्यवस्थापनको हिसावले समग्र वन क्षेत्रको १ कम्पार्टमेण्ट र ४ वटा सवकम्पार्टमेण्टमा विभाजन गरिएको बताए ।
    उनले वन व्यवस्थापन तथा वन सम्वद्र्धन प्रणाली सम्वन्धि जानकारी गराउँदै पहिलो लटमा वनबाट राज्यलाई वित्तीय लाभ ६४ लाख वरावराको हुने पनि जानकारी दिए । जिल्ला वन कार्यालयले प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको उपस्थितिमा सर्वपक्षीय भेला बोलाएर वन व्यवस्थापन सम्वन्धि सम्पुर्ण जानकारी गराएर रुख कटान गर्न थालेका छन् । 
    वन कार्यालयका सूचना अधिकारी शिवकुमार वुढाथोकीका अनुसार गत विहीवार ७ वटा सल्लाका रुख कटान गरिएको जानकारी दिए । उनले रुख कटान गर्नु अघि दलका जिल्लास्तरका नेताहरु, सामाजिक संघसंस्था संचारकर्मीहरु र अन्य सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुलाई सल्लेरी वन क्षेत्र भित्रै उपस्थित् गराएर रुख काट्ने कार्यक्रम अघि बढाइएको जानकारी दिए । उनले ७९ वटा रुख लगतार काटिसकेपछि मात्र थप अन्य योजना अघि वढ्ने बताए ।