यात्रुबाहक बसको ठक्करले एसईइ परीक्षार्थी घाईते

Published On: In Category: विविध समाचार
यात्रुबाहक बसको ठक्करले एसईइ परीक्षार्थी घाईते

 

धनकुटा । 
बसको स्टेरिङ फेल भएपछि अनियन्त्रित भएको बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । बसको ठक्करले दिँदा एसइइ परीक्षा दिएर फर्कदै गरेका ३ जना परीक्षार्थीहरु गम्भीर घाइते भएका छन् । दिउँसो ११ बजे संखुवासभाको मुढेशनिश्चरेबाट धरान जाँदै गरेको को. १ ख २९३२ नम्बरको बसले धनकुटाको जोरपाटीमा ठक्कर दिएको हो । 
बसको ठक्करले घाईते हुनेहरुमा सिंधुवा केन्द्रमा परीक्षा दिएर फर्कदै गरेका तांखुवा ९ का दोर्जे शेर्पा, अञ्जना मगर र एलिसा ओझा रहेको स्थानीय प्रहरीले जानकारी दिए । गम्भीर घाइते मगर र ओझाको उपचारका लागि सदरमुकाम धनकुटा पठाइएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए । 
उक्त दुघर्टना भएको चालक मिनकुमार राईले प्रहरीलाई बयान दिएका छन् । भोजपुर दोभाने ८ का चालक राईलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघिपनि यस्तै बसको ब्रेकफेल भएर दुर्घटना भएपछि पूर्व अर्थराज्यमन्त्री हरिराज खेवालगायकका यात्रुहरुको मृत्यू भएको थियो ।
यस रुटमा चल्ने यात्रुबाहक बसहरु अधिकांश पुराना रहेकाले पनि वारवार दुर्घटना निम्तेको स्थानीयहरु बताउँछन् । नयाँ नयाँ हुदाँ तराईका समथर सडकमा कुदाउने र पुराना र थोत्रो भएपछि पहाडी रुटमा चलाउने गर्नाले पनि दुर्घटना भएको हुनसक्ने आशंका यात्रुहरु गर्छन ।
पहाडी रुटमा चल्ने यात्रुबाहक बसहरुको मापदण्ड बनाएर चलाउनुपर्ने सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ बताउँछन् । अहिले काठमाडौंमा २० वर्ष पुराना सवारी साधनहरुलाई प्रतिबन्ध लगाएझै यहाँ पनि यसलाई कडा रुपमा कार्यान्वयन गर्नुपर्ने उनले बताए ।