पूर्वरथी थापाद्वारा विद्यालयलाई खानेपानी व्यवस्था

Published On: In Category: विविध समाचार
पूर्वरथी थापाद्वारा विद्यालयलाई खानेपानी व्यवस्था

धनकुटा, चैत्र ९ । 
नेपाली सेनाका पूर्वरथी तथा समाजसेवी कृष्णनारायण सिंह थापाले आफ्नो जन्मगाउँ मूगास्थित राम माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि खानेपानी व्यवस्था गरिदिएका छन् । साविक मुगा गाविस हाल पाख्रीवास नगरपालिकास्थित् विद्यालयमा छ लाख रुपैयाँ बराबर खानेपानी योजना समाजसेवी थापाले सम्पन्न गरी सञ्चालन गरिदिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर राईले जानकारी दिए ।
पूर्वरथी थापाले विद्यालयको खानेपानी पूर्तिका लागि थाक्ले खोलाबाट विद्यालयसम्म पुग्ने पाईप, ट्याङ्की र धारा निर्माण गरिदिएको अध्यक्ष राईले बताए । उक्त खानेपानी योजना सम्पन्न गरी पूर्वरथी थापाले एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिदिएका हुन् । सो अवसरमा पूर्वरथी थापाले शिक्षाविना विश्वको कुनै कुनामा केहि गर्न नसकिने बताउँदै विद्यार्थीहरुलाई राम्ररी पढ्न सुझाव दिए । उनले सरसफाईमा सहयोग पु¥याउनको लागि सहयोग गरेको पूर्वरथी थापाले बताए । 
आफ्नो मातापिताको नाममा वार्षिक गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृतिसमेत वितरण गरेको समाजसेवी इन्दीरा थापाले बताईन । दुई लाख ५० हजार रुपैयाँको अक्षयकोष निर्माण गरी छात्रबृति वितरण गरेको हो । मुगामा रहेको राम माध्यमिक विद्यालय स्थापना गर्नको लागि पूर्वरथी तथा विद्यालयका संरक्षकसमेत रहेका थापाका स्वर्गीय दाजु राजनारायण सिंह थापाले जग्गादान गरेका थिए । यसैगरी भाई नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य अजितनारायण सिंह थापा र बहिनी नेपाली कांग्रेस क्षेत्र नं. २ कि सभापति इन्दिरा थापाले समेत विद्यालयलाई विभिन्न सहयोग गरेका छन् ।