सडक निर्माणमा निर्माण ब्यवसायीको ढिलासुस्ती करिव २० करोड लगानीमा ४८ किमि सडक निर्माण

Published On: In Category: विविध समाचार
सडक निर्माणमा निर्माण ब्यवसायीको ढिलासुस्ती करिव २० करोड लगानीमा ४८ किमि सडक निर्माण

नारायण कुमार राई
चैत ९, धनकुटा ।
डेनमार्क सरकारको सहयोगमा उन्नती परियोजना अन्तर्गत् धनकुटा जिल्लामा सडक योजना सञ्चालित छ । तर, निर्माण व्यवसायीको ढिलासुस्तीले जिल्लास्तरीय सडक योजना सम्पन्न हुने सम्भावना देखिएको छैन । निर्माण कम्पनीको लापरवाही र ढिलासुस्तीका कारण जिल्लाको साबिक मारेककटहरे गाविसको दारेगौडादेखि चानुवा हुंदै लेगुवा सम्मको ग्राभेल बाटो निर्माण तथा स्तरोन्नतीमा ढिलाई देखिएको हो । सो सडक १९ करोड ५२ लाख २५ हजार चार सय ९९ पैसाको लागतमा निर्माण हुदैछ ।
तेह्रथुम, संखुवासभा र भोजपुर जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको पहुँच मार्गका रुपमा समेत सो सडकलाई लिईएको छ । उक्त ४८ दशमलव ४ सय १४ किलोमिटर निर्माणाधीन सडकको ३ खण्डको १७ प्रतिशत भन्दा बढी प्रगती हुन नसकेको अनुगमनले देखाएको छ ।
गत बैशाखदेखि काम शुरु गरी १५ महिनामा निर्माण सम्पन्न गर्न लुम्बिनी एपेक्स जेभी काडमाण्डौ र वाईपी कन्ट्रक्सन, ललितपुरले जिम्मा लिएको हो । ११ महिना बितिसक्दा पनि क्रमशः १७ र ३१ किलोमिटर बाटो निर्माणमा १७ र ९ प्रतिशत मात्र काम गरेको अनुगमन क्रममा देखिएको हो । यी दुई सडक खण्डमा पर्ने तस्रो प्याकेजअन्तर्गत लेगुवा–मारेककटहरे जोड्नका लागि निर्माण गर्नुपर्ने २२ मिटर लम्बाईको पक्की पुलसमेत ठेक्का लागेको ३ महिना बितिसक्दा पनि निर्माण कम्पनी कुम्सालिङ्ग प्रालि भोजपुरले अझैं काम शुरु गरेको छैन ।
सडक योजनाको पहिलो खण्ड १० करोड १५ लाख १३ हजार सात सय ८७ रुपैया, दोस्रो खण्ड सात करोड ७२ लाख ३९ हजार नौ सय ६३ रुपैंया ११ पैसा र तेस्रो प्याकेज अन्तर्गत एक करोड ६४ लाख ८१ हजार सात सय ३९ रुपैंया ३० पैसामा पुलको ठेक्का लगाईएको थियो । तर, अहिले सम्म ८० प्रतिशत प्रगती हुनुपर्ने भएतापनि ज्यादै न्यून काम भएकोले निर्माण ब्यवसायीहरुलाई समयमा काम सम्पन गर्न परिपत्र गर्ने उन्नती योजना धनकुटाका पूर्वाधार विज्ञ प्रमोद न्यौपानेले जानकारी दिए ।
‘यहि अनुपातमा काम गरे समयमा काम सम्पन्न नहुने अनुगमनमा देखियो’, उनले भने, ‘अब समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई तुरुन्त पत्र पठाउँछौ ।’ उता निर्माण कम्पनीका प्रतिनिधिहरुले भने ‘कृषि उपज बोक्न बर्षाको समयमा बाटो बिग्रन्छ’ भनेर किसानहरुको बिरोध र  त्यसपछिको दशैं–तिहार जस्ता चाडपर्वले कामदारको अभावमा काम हुन नसकेको बताएका छन् ।
अहिले काम धमाधम भईरहेपनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने भएकाले निर्माण कम्पनीहरुलाई थप समय दिनुपर्ने लुम्बिनी एपेक्स जेभी कम्पनीका सहायक ईन्चार्ज देवनारायण गजुरेलले बताए ।