निर्वाचन केन्द्र पुनरावलोकन कार्य आरम्भ

Published On: In Category: जिल्ला समाचार
निर्वाचन केन्द्र पुनरावलोकन कार्य आरम्भ


शर्मिला राई
धनकुटा । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा जिल्ला निर्वाचन कार्यलयले मतदान केन्द्र पुनरावलोकन सम्वन्धि कार्य आरम्भ गरेको छ । जस अनुसार जिल्लास्थितका ७ वटै स्थानीय तहका कार्यकारी अधिकृतहरुसँग अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । सो अवसरमा व्यवस्थापिका संसदमा प्रतिनीधित्व गर्ने जिल्लास्थितका सम्पूर्ण राजनीतिक दलका प्रमुखहरु एवम् प्रतिनिधिहरु, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको मतदान केन्द्र सिफारिस समितिको बैठक पनि सम्पन्न गरिएको छ । 
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको अध्यक्षतामा वैठक सम्पन्न भएको हो । कार्यालयले गाउँपालिका र नगरपालिकाका स्थानीय राजनीतिक दलहरुसँग छलफल गर्ने र ५ गतेदेखि मतदान केन्द्रको सिफारिस पठाउने तयारी गरिएको जनाएको छ । यो प्रक्रियामा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरुलाई गाउपालिका र नगरपालिकामा हुने बैठकमा सहभागी भई मतदान केन्द्रको पुनरावलोकन कार्यमा सहयोग गर्न कार्यालयले अपील पनि गरेको छ । 
मतदान केन्द्र निर्धारण पछि मात्र मतदाता नामावली तयार हुने भएकोले यो कार्य छोटो समयावधिमा नै सम्पन्न गर्ने लक्ष्य कार्यालयले लिएको छ ।