महिलालाई पहिला महिलाले नै सम्मान गर्नु पर्ने

Published On: In Category: राष्ट्रिय समाचार
महिलालाई पहिला महिलाले नै सम्मान गर्नु पर्ने


धनकुटा, फाल्गुण २५ ।
युवाहरुको संस्था स्टेप धनकुटाद्वारा आयोजित उच्च माध्यमिक विद्यालयस्तरीय छात्रा बक्तृत्व कला प्रतियोगितामा त्रिवेणी उच्च माविकी छात्रा शशिकला राई प्रथम, भाषा उच्च माविकी छात्रा आकृति भण्डारी द्वितीय र त्रिवेणी कै जया श्रेष्ठ तृतीय भएकी थिईन ।
एक सय सातौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले पुरस्कार र प्रमाणपत्र वितरण गरे । पुरस्कार वितरण गर्दै प्रमुख अतिथि श्रेष्ठले पहिलेभन्दा अहिले महिलाहरु हरेक क्षेत्रमा क्रियाशील भई सफल हुदै गएको बताए । अहिले नेपालका प्रमुख राष्टपति, सर्वोच्च अदालतको प्रधानन्यायाधीश र सभामुखसमेत महिला रहेको र नेपालबाट दुई जनाले सीएनएन हिरो विजयी हुदाँ दुवै जना महिला रहेको उल्लेख गर्दै महिलाहरुलाई सर्वप्रथम महिलाहरुले नै सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । घरघरमा महिलाहरुवीच हुने द्वन्द्व महिलाहरुले नै समाधान गर्दै छोराहरु सरह छोरीहरुलाई पनि व्यवहार र अवसर दिनुपर्ने बताए ।
यस्तै अर्का अतिथि पत्रकार महासंघका निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेले १६ वर्षकि दिदीलाई ७ वर्षको भाईका साथ बाहिर पठाईने संस्कार हट्दै गएको बताउँदै महिलाहरु पनि आफै अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे । यस्तै धनकुटा नगरपालिकाका प्रशासकीय अधिकृत डम्बर रोगुले स्थानीय तहको निर्वाचनमा पनि महिलाहरुलाई उचित सहभागिता गराउने नीति सरकारको रहेको जानकारी दिए । 
यस्तै एनवाई भोर्डका अध्यक्ष जयन्द्र प्रधानले महिला र पुरुष रथका दुई पांग्रा भएकाले एक अर्काविना अपुरो हुने बताए । सो अवसरमा निर्णायकका तर्फबाट ऋषिराम खतिवडाले महिलालाई समान अवसर दिनुपर्ने धारणा व्यक्त गरे ।
प्रतियोगिताका निर्णायक खतिवडासहित अनुपमा श्रेष्ठ र विष्णु साम्बाहाम्फे थिए । 
संस्थाका अध्यक्ष रजत पोखरेलको अध्यक्षता सम्पन्नकार्यक्रमको सञ्चालन सुजाता पोखरेलले गरेकि थिईन । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको संस्थाका विमर्शमान अमात्यले जानकारी दिए ।