सत्तामा बसेर संविधान मन्दिन भन्नु राष्ट्रघातीः नेता नेम्वाङ

Published On: In Category: राष्ट्रिय समाचार
सत्तामा बसेर संविधान मन्दिन भन्नु राष्ट्रघातीः नेता नेम्वाङ


धनकुटा । 
पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले सत्तामा बस्ने तर संविधान मान्दिन भन्नेहरु देषद्रोही भएको बताए । नेपाल राष्ट्रले जारी गरेको संविधान अनुसारको सेवा र सुविधा उपभोग चाहिँ गर्ने तर त्यहि संविधान चाहिँ मान्दिन भनेर सीमा ढुकेर आन्दोलनका नाममा देशलाई क्षति गर्नेहरुको काम राष्ट्रघाती र देशद्रोही भएको पूर्व सभामुख नेम्वाङले बताए । सो कुरा पूर्वसभामुख नेम्वाङले डाँडाबजारमा नेकपा एमालेले आयोजना गरेको संविधान कार्यान्वयनको लागि ४ महिने अभियान समापन समारोहको अवसरमा बताएका हुन् ।
अहिलेको संविधान दुई तिहाईभन्दा बढी मतसहित जारी संविधान भएको बताउँदै पूर्वसभामुख नेम्वाङले यो संविधान धेरै दलहरुको सहमतिको दस्तावेजसमेत भएकाले सबैको चाहना र माग समेट्न नसकिएको कुनसक्ने बताए । तर, यो संविधानले सवै लिङ्ग, जाति, बर्ग, समुदाय र भूगोललाई अधिकार सम्पन्न गराएको एमालेका उपनेतासमेत रहेका नेम्वाङले बताए । 
सो समारोहमा बोल्दै उपनेता नेम्वाङले संविधानले तोकेको प्रदेश टुक्राउने षडयन्त्र सफल नहुने बताए । ५ नं. प्रदेशबाट सुरु भएको यो षडयन्त्र अहिले आएर प्रदेश नं. १ र ७ मा पनि सुरु भएको भन्दै सचेत रहन सुझाव दिए । यो षडयन्त्रका विरुद्ध एमालेले ठटेर लागिपर्ने बताउँदै षडयन्त्र कुनै हालतमा सफल नहुने उपनेता नेम्वाङले बताए । 
    सो समारोहमा उपनेता नेम्वाङले एमाले विविधतामा एकताचाहने पार्टी भएको बताउँदै एकतानै नेपालको पहिचान भएको बताए । आफु लिम्बुको छोरो जाति लिम्बु भएको तर पहिचान नेपाली भएको बताउँदै नेपाल रहेन भने न मेरो लिम्बु जाति रहन्छ न त लिम्बुवान नै रहन्छ । त्यसैले पहिले नेपाल बचाउनु पर्ने नेता नेम्वाङले बताए ।  
आगामी स्थानीय तहको निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने दावी उपनेता नेम्वाङले गरे । स्थानीय तहको निर्वाचनपछि देशमा विकासले गति लिने विश्वास जनाउँदै उपनेता नेम्वाङले धनकुटाको पर्यटकीयस्थल भेडेटार हुँदै इलामको राँकेसम्म जाने सडक निर्माण सम्पन्न भएपछि यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्ने बताए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई उपनेता नेम्वाङ, सांसद टिकाराम चेम्जोङलगायतले अविर टिका लगाएर स्वागत गरेको थिए । 
नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईको सभापतित्वमा सम्पन्न समारोहमा उपाध्यक्ष दुर्गा लिंखा लगायतले चुनावी अभियान सुरु भएको बताए ।