शहीद भीम नारायण र सुशिल कोईराला आर्दश नेता

Published On: In Category: राष्ट्रिय समाचार
            शहीद भीम नारायण र सुशिल कोईराला आर्दश नेता


   धनकुटा । शहीद भीम नारायण श्रेष्ठ तथा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति सुशिल कोईरालाको स्मृतिमा नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रमका सहभागी कांग्रेस नेताहरुले शहीद भीमनारायण श्रेष्ठ तथा पूर्वप्रधानमन्त्री सुशिल कोईराला नेपालको आर्दश नेताको रुपमा रहेको बताए ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष विश्व प्रकाश शर्माले संविधानको कार्यान्वयन भएमात्र दुवैजना प्रति सम्मान हुने भएकाले संविधानको कार्यान्वयनका लागी कांग्रेस सबैभन्दा बढी क्रियाशील हुनु पर्ने बताए । उनले संविधान संशोधन भए मात्र सवैको अधिकार सुनिश्चित हुने र कार्यान्वयन पनि हुने बताए ।
कांग्रेस सभापति अग्नी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसांसद लिला सुब्बा, महासमिति सदस्य आनन्दसन्तोषी राई, नेविसंघका केन्द्रिय सदस्य ममता राई, तरुण दलका पूर्व केन्द्रिय सदस्य मदन बुढाथोकी, कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु निर्मल ओझा, भूपेन्द्र भण्डारी, क्षेत्रीय सभापति जितेन्द राई, नगर सपभाति रोशन श्रेष्ठ, शिक्षक संघका अध्यक्ष गंगा ढुंगानालगायतले दुवै नेताहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरुको सपना पुरा गर्न  अभियान संचालन गर्ने बताए ।
यसैगरी शहीद भीमनारायण श्रेष्ठको स्मृति दिवसको अवसरमा शहीद भीमनारायण चौकमा शहीदको शालिकामा माल्यार्पण गर्दै श्रद्धाञ्जली कार्यक्रम नेपाली कांग्रेस धनकुटा नगर समितिको आयोजनामा गरिएको थियो ।
शहीद श्रेष्ठलाई राजकाज मुद्धा लगाई २०३५ साल माघ २६ गतका दिन तत्कालीन पञ्चायती सरकारले मृत्युदण्ड दिएका थिए । शहीद श्रेष्ठलाई २०३० साल चैत्र ३ गते तत्कालीन राजा वीरेन्द्रको विराटनगर सवारी भएको समयमा भएको बम प्रहार गरेको आरोपमा राजकाज मुद्धा लगाई कोशी किनारमा गोली हानी हत्या गरेको थियो । यस्तै पूर्वप्रधानमन्त्री तथा पूर्व पार्टी सभापति कोईरालाको गत वर्ष माघ २६ गते असामयिक निधन भएको थियो ।