भारतीय राजदुतले दुईवटा विद्यालय भवनको उद्घाटन

Published On: In Category: राष्ट्रिय समाचार
भारतीय राजदुतले दुईवटा विद्यालय भवनको उद्घाटन

धनकुटा । भारतीय राजदुतावासको सहयोगमा निर्मित धनकुटाका दुईवटा विद्यालय भवनको एक कार्यक्रमका वीच भारतीय राजदुत रणजीत रायले उदघाटन गरे । राजदुत रायले पाख्रिवास नगरपालिकास्थित जाल्पादेवी माध्यमिक विद्यालय र मारेककटहरे गाविसस्थित शारदा माध्यमिक विद्यालय नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । सो भवन २०६८ सालदेखि निर्माण सुरु भई हालै निर्माण सम्पन्न भएका हुन् ।
जाल्पादेवी माध्यमिक विद्यालयको भवनमा दुई करोड १४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । भवनमा १० वटा कोठा, एउटा सभा हल र ६ वटा शौचालय रहेको छ । भवन निर्माणपछि ६ सय भन्दा बढी विद्यार्थीलाई अध्ययनका लागि सहज भएको सहायक प्रधानाध्यापक टेकनाथ अधिकारीले बताए ।
यस्तै शारदा माध्यमिक विद्यालयको भवन एक करोड ५४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । यस भवनमा १२ वटा कक्षाकोठा र ६ वटा शौचालय रहेका छन् । यो भवनमा करिव ४ सय ५० जना जति विद्यार्थी अध्ययनरत छन् । यस भवनमा कक्षाकोठासँगै अत्याधुनिक पुस्ताकालय र विज्ञान प्रयोगशालासमेत सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद बरालले बताए । 
विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै भातरीय राजदुत रायले नेपाल भारत वीचको सम्बन्ध केवल दुई राष्ट्रका वीचको सम्बन्ध मात्र नभई धार्मिक, सांस्कृतिक तथा पारिवारिक भएका उल्लेख गरे । उनले नेपालको शिक्षा, स्वास्थ्य र मानवीय क्षमता विकासमा भारतको निरन्तर सहयोग रहने बताए । हाल भारत सरकारको सहयोगमा नेपालमा २ सय ७० वटा विद्यालय भवन निर्माण भईरहेको जानकारी दिए । 
सो अवसरमा पूर्वमन्त्री तथा सांसद सुनिलबहादुर थापाले धनकुटा लगायत नेपालका विद्यालयमा भारत सरकारले गरेको सहयोगको प्रशंसा गर्दै निरन्तर सहयोगका लागि अनुरोध गरे । यस्तै अवसरमा राष्ट्रिय जनमोर्चा नेपालका तुलमान राई, संघीय समाजवादी फोरमकी पार्वती राई, स्थानीय विकास अधिकारी पर्वप्रसाद सापकोटा लगायतले सुविधायुक्त विद्यालय भवन निर्माणले गुणस्तरीय शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।