सान्नेको तीनथुने गुफामा माघे संक्रान्तिमा मकर मेला लगाउने

Published On: In Category: पर्यटन: सुन्दर नेपाल
सान्नेको तीनथुने गुफामा माघे संक्रान्तिमा मकर मेला लगाउने

सन्तवीर लामा
सान्ने । धनकुटा जिल्लाको सान्ने गाविस वडा नं.३ स्थित ऐतिहासिक तीनथुने गुफामा माघे संक्रान्तीको अवसर पारेर पहिलो पटक मकर मेला लगाउने भएका छन् ।
विभिन्न प्रकृति र आकारका देवी देवताको जस्तो स्वरुप मुर्तिहरु प्रत्यक्षरुपमा देख्न सकिने सो ऐतिहासिक गुफामा धार्मिक पर्यटनको प्रवद्र्ध न गर्ने उद्देश्यले आउँदो माघे संक्रान्तिमा मकर मेला लगाउने तयारीमा स्थानीयवासी जुटेको सान्ने–२ का तामाङ पुजारी दिलबहादुर तामाङले बताए । उनले पटक÷पटक आफु राती सुतेको समयमा गुफामा गएर वत्ति वालेर पुजा गर्दै गरेको सपना देखेपछि आफुले हरेक मंगलवार विहान गुफामा गएर धुपवत्ति दिने गरेको बताए ।

    आफुले हरेक मंगलवार गुफामा गएर पुजाआजा गर्न थाले पछि स्थानीय छरछिमेकीले पनि चासो राखी सोध्न थाले पछि यथार्थ कुरा उनीहरुलाई बताएपछि गुफा हेर्नको लागी अग्रसर भएको बताए । पुजारी दिलबहादुरले तामाङ भाषामा गुफालाई “उ” भन्ने गरेको र माघे संक्रान्तीको अवसरमा यसपटक तीनथुने गुफामा उ मेला अथवा पवित्र जलले मकर नुहाउने माघे संक्रान्ति मेला लगाउने तयारीमा स्थानीय जुटेको वताए । 
    पुजारी तामाङले गुफा भित्रको चट्टान पत्थरबाट नियमित रुपमा वर्षौदेखि हिउँदमा पनि तातोपानी आउने गरेको, गुफा भित्र नाग देवता, भगवान बुद्धको जस्तो स्वरुप देखिने, गाईको तीन थुन देखिने जानकारी दिए । यस्तै गुफा भित्रबाट पानी बग्ने खोला रहेको, खोलामा ढुङ्गाको पुल लगाएको, पुलपारी तीन वटा दियो बलिरहेको जस्तो देखिने र त्यस तर्फ मान्छे फर्किएर उभिएको जस्तो आकारहरु देखिने गरेको बताए । तामाङले गुफाको लम्वाई ३० मिटर जति रहेको र चौडाई गुफाको मुखमा ३ देखि ४ मिटर जति भएपनि मुख्य विभिन्न आकृतिका स्वरुपहरु हेर्न छिर्ने स्थानमा भने एक जना मात्र मान्छे छिर्न सकिने बताए । उनले गुफाको मुखवाट छिरेर केही मिटर पर गएपछि मात्र विभिन्न आकृतिका देवी देवताको स्वरुप देखिने बताए । 
    स्थानीय ९२ वर्षिया बौद्धधर्मका गुरु लामा कृष्णबहादुर वम्जनले गुफा कसरी बन्यो होला भन्ने जिज्ञासामा उनले भने “आदिमकालमा नै यो गुफा बनेको हुन सक्ने र सोही वेलामा विभिन्न प्रकृतिका अकार प्रकारका स्वरुपहरु देखिएको हुन सक्ने बताए ।” उनले आफु सान्नेमा जन्मेको ९२ वर्ष भयो थाहा पाउने वा हिड्न सक्ने भएदेखि नै गुफा रहेको बताए । उनले गुफा भित्र रहेको गाईको चार थुन देखिने चटानबाट दुध आउने गरेको र दुध आएको देखेर सान्नेका ओख्रेली तामाङहरुले खिर पकाएर खाने गर्थे भन्ने किंम्बदन्ती रहेको बताए । खिर पकाएर खाने क्रममा एक दिन भने पकाएको खिर उभ्रिएको र उभ्रिएको खिर घरमा लगेर अन्य परिवारलाई खुवाए । र, भोली पल्ट आउँदा गाईको चारै वटा थुनबाट दूध नआई पानी आएको थियो भन्ने बृद्ध वौद्ध लामा गुरु बम्जनको भनाई छ । 
    द्यूध आउने गाईको थुनबाट पानी आउन थाले पछि एउटा थुन खिर खान पल्केको तामाङहरुले फुटाई दिएपछि तीनथुने उ गुफा भनेर ओख्रेली तामाङहरुले भन्ने गरेको भन्ने किंम्बदन्ति रहिआएको लामाले बताए  । 
त्यसैगरी अर्का स्थानीय अगुवा जंगबहादुर तामाङका अनुसार साविक सान्ने–८ र हाल सान्ने–३ मा ग्याम्जन वम्जन थरको तामाङ झाँक्री (बोन्बो) रहेको र उनी तीनथुने गुफाबाट छिरेर भिरगाउ किन्ताङ्गमा रहेको पवित्र धार्मिकस्थल मधुगंगा गुफामा निस्किएको भन्ने किंम्बदन्ती रहेको बताए ।
    मेलाको तयारी
गुफा पाख्रीवास वजारदेखि ७ किलोमिटर दुरीमा रहेको छ । सो मेलाको अवसरमा गुफाबाट निस्किने पवित्र जलले नुहाउनको लागी आवश्यक व्यवस्था मिलाउने, गुफाको अवलोकन गर्न जाने बाटो व्यवस्थित् बनाउने तयारी पुरा भएको जनाएको छ । मेला गुफा भन्दा १ किलोमिटर वर खेतमा मक्कर मेला लगाउने तयारी भएको स्थानीय युवा गजेन्द्र तामाङले बताए । यो गुफाको प्रचारप्रसार गर्न सके धनकुटाको अर्को धार्मिकस्थलका रुपमा विकास गर्न सकिने छ ।