अतिक्रमित घरटहरा डोजर लगाएर भत्कायो प्रतिकार गर्न खोज्ने दुई जना पक्राउ

Published On: In Category: कृषि विशेष
अतिक्रमित घरटहरा डोजर लगाएर भत्कायो   प्रतिकार गर्न खोज्ने दुई जना पक्राउ

 

सन्तवीर लामा

धनकुटा ।

सयौं रोपनी जग्गा अतिक्रमण गरेर सुकुम्वासीको नाममा बसोवास गर्दै आएकाहरुको घरटहरा स्थानीय प्रशासनले भत्काएको छ । नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाको स्वामित्वको हिलेमा रहेको सो जग्गा अतिक्रमण गरेर अटेर गरी बस्नेहरुको घरटहरा प्रशासनले डोजर लगाएर भत्काई दिएको हो । जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल, सरोकारवाला निकाय, नेपाल विद्युत् प्राधिकरणको संयुक्त बैठकले निर्णय गरेर स्थानीय प्रशासनले गएको मंसिर १३ गते नै एक महिनाभित्र हटाउने गरी जग्गा अतिक्रमण गरेर बस्ने ४७ घर टहरामा सूचना टाँस गरेको थियो । घरटहरा भत्काउने क्रममा प्रतिकार गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नेपाल बसोवास वस्ती संरक्षण समाज धनकुटाका अध्यक्ष एञ्जिला याखा र कमला राई रहेकी छन् । राई श्री नं. २ वाहिनी अड्डा हिलेमा कार्यरत नेपाली सेनाको परिवार रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । उनीहरुलाई प्रहरीले पक्राउ गरी हिले प्रहरी चौकीमा ल्याएपनि अपरान्ह ४ बजे छोडेको थियो । स्थानीय प्रशासनले यस अघि टाँस गरिएको सूचनामा स्थानीय प्रशासन ऐन २०५७ को दफा ९ को उपदफा ६ (क) बमोजिम एक महिना भित्रमा अनाधिकृत घर आफैले भत्काउन आदेश दिइएको थियो । तर, सो सूचनालाई अटेर गरी एक महिना बित्दा पनि जग्गा खाली नगरेपछि स्थानीय प्रशासन ऐनको दफा ९ को उपदफा ६ (क) बमोजिम कानुनले तोके अनुसार बाध्य भएर घरटहरा भत्काईएको प्रजिअ उप्रेतीले बताए । प्रजिअ उप्रेतीको अगुवाईमा जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी १ सय ५० को जना जति २ वटा डोजरसहित घरटहरा भत्काउन खटाईएको थियो । साथमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राजभण्डारी, सशस्त्र प्रहरी वल छिन्ताङ्ग गुल्मका गुल्मपति दुर्गेश थापा र विद्युत् प्राधिकरणका प्रमुख ध्रुवराज कार्कीले घरटहरा भत्काउने कार्यको अगुवाई गरेका थिए । प्रशासनले घरटहरा भत्काउने क्रममा प्रतिकार हुने डरले पानी फोहोरा हान्नको लागी दमकल, अश्रुग्याँस, सयौंको संख्यामा प्रहरी परिचालन गरेका थिए । तर कुनै ठुलो प्रतिकार भने भएन । विद्युत् प्राधिकरणले ०४५ सालदेखि नै जग्गा अतिक्रमण गरी वसोवास गरिहेकालाई जग्गा खाली गर्न पटक पटक अनुरोध गरेको जनाएको छ । जति अनुरोध गर्दा पनि जग्गा खाली नगरेकाले यो पटक भने बाध्य भएर स्थानीय प्रशासनलाई गुहार्नु परेको प्रमुख ध्रुवराज कार्कीले बताए । उनले धनकुटाको मात्र नभएर नेपालभरकै विद्युत् प्राधिकरणको अतिक्रमणमा परेको जग्गा खाली गराउने अभियान प्राधिकरणले संचालन गरेको बताउँदै सोही बमोजिम धनकुटामा पनि आवश्यक कार्वाही अघि बढाएको बताए । प्रमुख कार्कीले सो जग्गामा बसोवास गरेको मध्ये ९० प्रतिसतभन्दा बढी सुकुम्वासीको नाममा हुक्कुम्वासी बस्ने गरेको बताए । उनले सो जग्गा अनधिकृत रुपमा किनबेचसमेत हुने गरेको पाइएकाले बल प्रयोग गरेर हटाईएको बताए । घरटहरा भत्काउँदा बृद्धबृद्धा र केटाकेटी अलपत्र प्रशासनले घरटहरा भत्काएसँगै अहिलेको चिसो मौसममा घरबारविहीन भएका बृद्धबृद्धा र केटाकेटीलाई बढी समस्या भएको छ । प्रशासनले घरटहरा भत्काउन एक महिना अघि आदेश दिए पनि नटेरी बस्ने १३ घर परिवारका बालबच्चा, बृद्धबृद्धासँग आश्रित अन्य परिवारलाई रात गुजार्न र चिसो काट्न गाह्रो देखिएको छ । प्रशासनले घरटहरा भत्काउने क्रममा काठपात, च्याँदर केही पनि काम नलाग्ने गरी डोजरले भत्काई दिएपछि उनीहरुलाई रात गुजार्न समस्या भएको ३० वर्षदेखि बस्दै आएका ९२ वर्षिया वीरबहादुर नेपालीले बताए । उनले आफ्नो लुगाफाटा, भाँडाकुडाँ र ओड्ने ओछ्याउने केही पनि नरहेको बताए । उनी श्रीमती तिर्थमाया नेपाली, २ छोरा र २ छोरीको साहारमा बसिरहेका थिए । उनले मर्ने बेलामा म काँहा जानु सर भन्दै पत्रकार सामुु आँसु झारे । त्यसैगरी दिक्तेल आम्चोक डमर्कबाट १७ वर्ष अघि मजदुरी गर्र्न आएर यतै बस्न थालेका वर्ष ८९ का तिलबहादुर विकले नगरपालिकाले शौचालय बनाउन लगायो, घरधुरी कर तिर्न लगायो अहिले पुलिसले डोजर लगाएर घर भत्काई दियो । हामी निमुखा माथि अन्याय भएको भन्दै गुनासो पोखे ।