नगरमा माग बगरमा साग बगरमा सागखेती गरेर आम्दानी गर्दै सिम्सुवा गाउँ

Published On: In Category: कृषि विशेष
नगरमा माग बगरमा साग  बगरमा सागखेती गरेर आम्दानी गर्दै सिम्सुवा गाउँ


पुस २३, धनकुटा ।
बर्षाको भेलले बगाएर सोत्तर पार्ने बगरमा कोहिकसैले खेतीपाती गर्दैनन् । तर, केहि काम नलाग्ने भनेर हेला गरिएका यहि खोलाका बगरहरु आम्दानीका स्रो त बन्दैछ । भेडेटार गाविसस्थित सिम्सुवा गाउँका २६ परिवारको लागि यहि बगर अहिले राम्रो आम्दानीको स्रोत बनिरहेको छ ।
धरान–धनकुटा सडक खण्डअन्तर्गत सिम्सुवा खोला र लेउती खोला क्षेत्रका यस्ता बगरहरुमा स्थानीय किसानहरु सिम साग खेती गरेर आम्दानी गरिरहेका छन् । सो खोला क्षेत्रको करिव ८० रोपनी निजी तथा सार्वजनिक खेर गैरहेको बगरमा सिम साग खेती गरिरहेका छन् । किसानहरुले यहि साग बेचेर मासिक ९ देखि १५ हजारसम्म आम्दानी गर्ने गरेको सिम्सुवा ३ का टिका लिम्बुले धनकुटा साप्ताहिकलाई जानकारी दिईन् । उनीहरुका अनुसार ‘पानी भएको ठाउँमा एक पटक सागको बोट रोपेर छाडेको एक महिना पछि फल्न शुरु हुन्छ । फलेपछि एक–एक हप्तामा टिपेर बेच्न हुन्छ’, । ‘बिना लगानी हप्तामा न्यूनतम ३ हजारसम्म आम्दानी गर्न सकिने भएपछि अहिले यहाँका किसानहरु यहि खेतीमा लागेका हुन् ।’
किसान लिम्बूका अनुसार पहिले केहि नगरिएको खेर गएको आफ्नो ३ रोपनी बगर जमिनमा सिम साग हुन्छ भन्ने सुनेर लगाउन शुरु गरिएको बताए । उनका अनुसार अहिले लगाएको साग बेचेर मासिक १५ हजार भन्दा बढी कमाउने गरेको बताईन् ।
त्यस्तै सोही गाउँकी पूर्ण माया लिम्बु (राई) ले पनि ३ वर्ष यता खोलाको २ रोपनी क्षेत्रफलमा साग खेती गरेर हप्तामा २ हजार ५ सयसम्म कमाउने गरेको बताईन् । विगतमा कोहि कसैलेमात्र  खोलामा साग खेती गरेका थिए । अहिले राम्रो आम्दानी हुन थालेपछि गाउँका सबै घरपरिवार साग खेतीमा लागेको उनले बताईन् ।
त्यस्तै ४३ वर्षिया बिष्णु माया सुवाहाङ्ग लिम्बुले पनि प्रति मुठा ३० रुपैंयासम्म साग बेचेर मासिक १२ हजारसम्म कमाउने गरेको बताईन् । राजमार्गको छेउ भएकोले बजारको कुनै समस्या छैन । प्रायः साग यात्रा गर्ने यात्रुहरुले नै लाने गरेको लिम्बूले बताईन । तराईमा राम्रो माग भएको बताउँदै यहाँ बढी भएको मात्र तराईमा बेच्ने गरेको उनको भनाई छ ।