निजामती सेवाः किन भए आकर्षक रोजगारीको क्षेत्र ?

Published On: In Category: विचार / लेख
निजामती सेवाः किन भए आकर्षक रोजगारीको क्षेत्र ?

भाद्र २६ / निजामती सेवा राज्यको स्थायी संयन्त्र हो । सार्वजनिक प्रशासनको मुटु हो । जनताको प्रतिनिधिको रुपमा निर्वाचित राजनैतिक दलको सरकार जस्तो परिवर्तन भइनरहने हुँदा यस सेवालाई स्थायी सरकार पनि भनिन्छ । यो सेवामा निजामती कितावखानाको पछिल्लो तथ्याङ्क अनुसार हाल ८२ हजार बढी कर्मचारीहरु कार्यरत रहेका छन् । यो विशेष प्रकृति, क्षमता र विशेषता भएको सरकारी सेवा हो । सरकारले निर्माण गरेको नीति, कानूनहरु कार्यान्वयन गर्दछ र आवश्यक कानूनहरु बनाउन, परिमार्जन गर्न सरकारको सहयोगी भूमिका खेल्छ । राज्यकोषबाट तलब खाएर जनतालाई सेवा प्रवाह र विकास प्रशासन सञ्चालन गर्दछ ।

यस्तो महत्वपूर्ण सेवामा प्रवेश गर्न शिक्षित युवाबर्गहरुको आकर्षण बढ्दै गएको पाईन्छ । राजधानीको कोचिङ सेन्टरहरुमा तयारी गर्नेको संख्यामा बर्षेनी बृद्धी भैरहेका छन् । सरकारी सेवा प्रति युवाहरुमा चेतना जाग्दैछ । कम्तीमा १८ वर्ष लागेको र बढीमा पुरुष ३५ वर्ष र महिला ४० वर्ष उमेर नकटेको व्यक्ति प्रतिस्पर्धी हुन पाउछ । राज्यको माग अनुसार यसको सम्पूर्ण छनौट प्रक्रिया लोकसेवा आयोगको केन्द्रिय, क्षेत्रीय, अञ्चलस्तरका कार्यालयहरुले सञ्चालन गर्दै आएको छ ।

युवावर्गहरु कतिपय जानेर, कतिपय अन्जानमै यस क्षेत्रमा आकर्षित भएको, प्रवेश गरेको पाइन्छ । कुनै समय निजी क्षेत्रले दिने तलबको तुलनामा निजामतीको तलब भन्नै लाजमर्दो थियो । अहिले पर्याप्त नभएपनि तलब र सेवा सुविधा बृद्धिले अन्य क्षेत्र भन्दा आकर्षक बन्दै गएको छ । निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० को समय–समयमा भएका संशोधनहरुले सेवा सुविधामा बृद्धि र थप व्यवस्था गर्दै गएको पाइन्छ ।

यसभित्रका आकर्षणका कुराहरु के छ ?

झट्ट हेर्दा मासिक तलब पहिलो आकर्षणको कुरा हो । तर त्यसभित्र अन्य सुविधाहरु के छ भन्ने कुरा सहजै थाहा पाउन गाह्रो छ, तर जान्न जरुरी छ । अरु सरकारी सेवाहरुको जस्तै निजामती सेवा भित्रको सेवा सुविधाहरु देहाय बमोजिम रहेको पाइन्छः
-  मासिक तलब (तल्लो तहको कर्मचारीको मासिक तलबः रु.१६ हजार २ सय ३०, अन्य सुविधा बाहेक),
-  भ्रमण भत्ता (कार्यक्रम, तालिम, गोष्ठी, निरीक्षण, सुपरिवेक्षणमा जादा),
-  वार्षिक रुपमा एक दिनको तलब बराबर बृद्धि हुने ग्रेड,
-  सञ्चयकोष (तलबबाट १०% कट्टी गरी सरकारले १०% थप गरिदिने),
-  सावधीक जीवन विमा (एक लाख बराबरको),
-  स्वदेश तथा विदेशमा हुने विविध तालिम (Training), गोष्ठीहरु,
-  स्वदेश तथा विदेशको विश्वविद्यालयहरुमा अध्ययन गर्न पाउने छात्रबृत्ति (Scholarship),
-  अध्ययन विदा र अध्ययन अवधिमा पाउने तलब,
-  घरविदा सुविधा (वर्षमा ३० दिनः सेवा अवधिभर १८० दिन संचिती गरे पैसा पाइने),
-  विरामी विदा (वर्षमा १२ दिनः सेवा अवधिभर संचिती भएजतिको पैसा पाइने),
-  महिलालाई सुत्केरी विदा (९८ दिन) र सुत्केरी भत्ता (रु.५/५ हजार २ जनासम्म),
-  पुरुषलाई शिशु स्याहार विदा (१५ दिन) र शिशु स्याहार भत्ता (रु.५/५ हजार २ जनासम्म),
-  स्वास्थ्य सुविधाः निजामती अस्पतालमा रा.प.अनं.प्रथम (नायब सुब्बा तह) सम्म - ५०% र सो भन्दा माथिकोलाई ४५% छुट सुविधा,
-  निको नहुने रोग लागेमा रु.५ लाखसम्मको उपचार खर्च पाउने,
-  उपत्यकामा कर्मचारीको लागि निःशुल्क एकिकृत परिवहन सेवा सञ्चालन,
-  उच्च शिक्षा अध्ययनको लागि कर्मचारीको सन्ततीलाई सरकारद्वारा दिइने छात्रबृत्ति,
-  मन्त्रालय/विभाग/कार्यालयहरुमा पद र उपलब्धता अनुसार प्राप्त हुने सवारी साधान र इन्धन,
-  जागिरको सुनिश्चितता,
-  जागिर समाप्त भएपछि पेन्सनको सुविधा,
-  सञ्चयकोषबाट घरबनाउन १ (एक) करोडसम्म ऋण पाउने सुविधा,
-  दुर्गममा दुर्गम भत्ता,
-  केही आयोग, मन्त्रालय, विभाग, कार्यालयहरुमा तलब बाहेक कार्यसम्पादनको आधारमा थप Incentive सुविधा,
-  माथिल्लो पदमा बढुवा सुनिश्चित भएको,
-  राज्यको ठूलो जालो (Network) मा प्रवेश पाउने र जनसम्पर्क बढ्ने ।

अन्तमा, राज्यकोषबाट तलब खानपाउने यो एउटा सुरक्षित, भरपर्दो र आकर्षक सेवा हो । राज्यको मूलप्रवाहमा बसी जनता र देशको सेवामा योगदान दिन सक्ने सुनौलो र प्रतिष्ठीत क्षेत्र हो । यो सेवा योग्यता र सोपानीक प्रणालीमा आधारित भएकाले क्षमता हुनेका लागि, विना भनसुन र निष्पक्ष रुपमा लेखेर, आफ्नो क्षमता देखाएर प्रवेश पाउने एक मात्र क्षेत्र हो । अतः उल्लिखित सेवा सुविधा प्राप्त गर्दै आफ्नै देशको सेवा गर्ने र निर्माणमा लाग्ने वा नीजि व्यापार/व्यावसाय खोलि रोजगारी सृजना गर्ने अथवा विदेश बनाउन जाने तपाईको विचार र सही निर्णयको उपज हुनेछ ।

प्रस्तुतः रविन साम्पाङ राई  (साभारः YesNep.com)