कस्तो कम्प्यूटर / ल्यापटप रोज्ने, किन्ने ?

Published On: In Category: विज्ञान - प्रविधि
कस्तो कम्प्यूटर / ल्यापटप रोज्ने, किन्ने ?

धनकुटा / बजारमा विभिन्न कम्पनी, ब्रान्ड, मोडल, आकार प्रकार र विशेषता भएको कम्प्यूटर तथा ल्यापटपहरु पाईन्छन् । नयाँ व्यक्ति वा प्रयोगकर्ताहरु सबैसँग कम्प्यूटरको हार्डवेयर तथा सफ्टवेयरको राम्रो ज्ञान नहुन सक्दछ, उनीहरुलाई कम्प्यूटर रोज्ने र किन्ने निर्णय गर्ने कार्य झनै गाह्रो र अन्यौल हुन्छ । कम्प्यूटर किन्दा निम्न कुराहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ, जसले तपाईको लगानीको सही सदुपयोग हुन जान्छ ।

 

विशेष ध्यान दिनुपर्ने कुराहरुः

-  कुन प्रयोजनको लागि कम्प्यूटर किन्नेः घरायसी वा कार्यालय

-  कामका प्रकृति कस्तो खालको हुन्छः सामान्य डकुमेन्ट फायलहरु वा ग्राफिक्स, मल्टिमिडिया फायलहरु बनाउने, डाटा प्रसोधन गर्ने वा प्रोग्रामिङ्ग गर्ने ।

-  तपाईको ठाउँको लोडसेडिङ्ग (Loadshedding) को अवस्था कस्तो छ ।

-  तपाईको बजेटको अवस्था के छ ?

-  कस्तो कम्प्यूटर किन्नेः डेक्सटप वा ल्यापटप ? ब्रान्डेड वा एसेम्बल ?

 

रोज्ने र किन्ने सहि निर्णय गर्दा यि कुराहरु हेर्नुहोस्ः

-  उच्च गति र क्षमता भएको कम्प्यूटर वा ल्यापटप किन्नु पर्दछ । विशेष गरी ३ (तीन) कुराः मेमोरी (RAM), प्रोसेसर (CPU), हार्डडिस्क (Harddisk) को क्षमता हेर्नुपर्दछ ।

-  मेमोरी (RAM): बजारमा 2GB, 4GB क्षमता भएको डेक्सटप वा ल्यापटप कम्प्यूटरहरु पाइन्छ । यो चाहेको समयमा थप्न पनि सकिन्छ । तर थप्ने स्लट (राख्ने ठाउँ) भएनभएको किन्दा ध्यान दिनुपर्ने हुन्छ । आफनो कामको प्रकृती अनुसार यसको छनौट गर्नुपर्दछ । कम्तीमा  4 GB मेमोरी भएको छान्दा उपयुक्त हुन्छ ।

-  प्रोसेसर (CPU): पहिला पेन्टीएम, ड्युएलकोर भनेजस्तै अहिले कोर (Core) i3, i5, i7 भएको प्रोसेसरहरु वा भएको कम्प्यूटरहरु बजारमा पाइन्छ । कम्तीमा Core i5 भएको कम्प्यूटर किन्नु राम्रो हुन्छ तर कामको प्रकृति अनुसार छनौट गर्न सकिन्छ ।

-  हार्डडिस्क (Harddisk): यो कम्प्यूटरको मुख्य भण्डारण (Storage) गर्ने डिभाइस हो । धेरै क्षमता भएको हार्डडिस्कमा धेरै प्रोग्राम, भिडियो तथा फोटोहरु अटाउदछ । त्यसैले धेरै क्षमता भएको हार्डडिस्क छान्नु पर्दछ । बजारमा 500GB, 750GB, 1TB (1024GB) भएको हार्डडिस्कहरु उपलब्ध छ ।

-  स्क्रिन (Screen/Monitor): साईज आफूलाई उपयुक्त हुने रोज्ने । ठूलो स्क्रिन हेर्न र काम गर्न सजिलो हुन्छ तर बोकेर हिड्न गाह्रो हुन्छ ।

-  किवोर्ड (Keyboard): सहज र लचक कि भएको रोज्ने । कि थिच्न गाह्रो खालको किबोर्डबाट काम गर्न बढी समय लाग्ने र गाह्रो हुन्छ ।

-  ग्राफिक्स र मल्टिमेडिया सम्बन्धि काम गर्ने हो भने बढी ग्राफिक्स क्षमता भएको कम्प्यूटर किन्ने । डेक्सटपमा पछि बढाउन मिल्छ, तर ल्यापटपमा मिल्दैन त्यसैले किन्ने समयमा नै ध्यान दिनुपर्दछ ।

-  ग्राफिक्स (Graphics): क्षमता बढी भएको कम्प्यूटरमा भिडियो, फोटोहरु हेर्दा राम्रो र सफा देखिन्छ । भिडियो फिल्महरु धेरै हेर्नेले Full HD स्क्रिन भएको किन्नु राम्रो हुन्छ ।

-  कार्यालयमा Power Backup राम्रो भएमा डेक्सटप कम्प्यूटर किन्नु नै उपयुक्त हुन्छ । लोडसेडिङ्ग भइरहने वा फिल्ड गइरहनुपर्ने कार्यालय वा ठाउँको लागि ल्यापटप कम्प्यूटर उपयुक्त हुन्छ । डेक्सटप भन्दा ल्यापटपको मूल्य बढी पर्दछ ।

-  ल्यापटप धेरै समय टिक्ने Power Backup भएको किन्नु राम्रो हुन्छ । ६ सेल, ९ सेल, १२ सेल ब्याट्री भएका ल्यापटपहरु पाइन्छ । ६ सेल ब्याट्री साढे २ घण्टा जति टिक्दछ ।

-  डिभिडी (DVD): ड्राइभ अहिले विभिन्न मोडलका ल्यापटपहरुमा प्राय आउदैन । यसको आवश्यता हेरेर किन्दा रोज्नुपर्ने हुन्छ ।

-  यूएसबी (USB): पोर्ट कम्तीमा एक देखि तीनवटा भएको ल्यापटप किन्नु राम्रो हुन्छ ।

-  कम्प्यूटर प्राय स्थानीय बजारमा किन्नु राम्रो हुन्छ । राम्रै ब्रान्ड भएपनि हार्डवेयर तथा सफ्टवेयरमा कहिलेकाही समस्या आउनसक्दछ । त्यस्तो अवस्थामा तत्कालै समाधान गर्न सकिन्छ । कम्प्यूटर किन्दा वारेन्टी, ग्यारेन्टीको भएको किन्नु पर्दछ ।

स्रोतः रविन साम्पाङ राईको  "छिटो सिकाईः कम्प्यूटर र वेब प्रविधि, अभ्यास देखि अवसरसम्म" पुस्तकबाट

Related Tag: Technology