जितपुरमा शुरु गरे २१ बर्षे युवाले बाख्रापालन

Published On: In Category: कृषि विशेष
जितपुरमा शुरु गरे २१ बर्षे युवाले बाख्रापालन

असार २२,धनकुटा / जितपुर गाबिसका २१ बर्षिया पशुपति पौडेलले बाख्रापालनलाई आफ्नो जीवन जीउने आधार बनाउन शुरु गरेका छन् ।

धनकुटाको उत्तरपानी स्थित प्राबिधिक शिक्षालयमा अध्ययन गर्दा आफूलाई पशुपालन तर्फ प्रेरित भएर बाख्रा पालनमा लागेको उनले बताए ।

जेटिए अध्ययन संगै कक्षा १२ उतिर्ण गरेका पौडेलले  बाख्रा पालनबाट हुने आम्दानीको अध्ययन गर्दा मनग्गे आमदानी हुने देखेपछि आफू थप हौसिएर बाख्रापालनमा लागेको बताए ।

‘सरकारी जागिर खाँदा पनि १५ देखि २० हजार भन्दा बढी कमाई नहुने थाहा पाएं’,उनले भने,‘बाख्रा पालनबाट पैसा पनि कमिने कसैको अधिनमा पनि बस्नु नपर्ने भएकाले यता लागें ।’

नौ परिवार रहेका काफ्लेका आमा र बुवाले सहयोग गरेपछि दुई बर्ष अघि देखि बाख्रा पालनमा लागेका पौडेल संग हाल २३ वटा खरी र जमुनापारी बाख्रा क्रसगरी जन्मेका माउ बाख्रा छन् ।

उनीसंग अहिले खसी,बोका र बख्राका पाठापाठी गरी सात लाख भन्दा बढीको ३२ वटा बाख्रा रहेको छन् । उनको यो प्रयासलाई देखेर जशु सेवा कार्यालय धनकुटाले ५० हजार अनुदान समेत दिएको छ ।

उक्त रकमले खोर सुधार गरी उत्साहित भएका पौडेलले यो बर्ष खसी बेचेर कम्तिमा एक लाख कमाउने बताए ।
उनले दीर्घकालिन बाख्रापालनको लागि ३५ रोपनी जमिनमा नेपियर र ईपिल–ईपिल जातको घाँस खेती लगाएका छन् । बाख्रा पालनबाट आगामी दिनमा बार्षिक पाँच लाख भन्दा बढी कमाउने उनको लक्ष रहेको छ ।

जिल्ला पशुसेवा कार्यालयको तथ्यांक अनुसार हाल धनकुटामा ६० वटा बाख्रा फर्महरु दर्ता भएर सन्चालनमा रहेका छन् ।

 

 

Related Tag: Agriculture Education