ओझेलमा पारिएका शहीद प्रजालाल राई

Published On: In Category: विचार / लेख

राजश्वरबहादुर श्रेष्ठ
पञ्चायती तानाशाहका विरुद्धमा भएको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो ज्यानको आहुती दिने शहीदहरु अहिले पनि ओझेलमा छन् । यिनै शहीदहरुको बलिदानबाट देशमा प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र आईसकेको छ । तरपनि यि शहीदहरुको उचित मूल्यांकनहुन सकेको छैन । बरु गणतन्त्र आएपछि भिरबाट खसेर मरेका होस् वा गुण्डागर्दीको क्रममा मृत्यूवरण गरेकाहरु पनि धमाधम शहीद बनि १० लाख प्राप्त गरिरहेका छन् । यस्तो अवस्थामा प्रजातान्त्रिक आन्दोलनको क्रममा शहादत प्राप्त शहीदहरुको अवस्थाका वारेमा सम्वन्धित दलहरुकासाथै राज्य संयन्त्र मौन देखिन्छन् ।

देशभर यस्ता सयौं महान शहीदहरु छन्, जो पद, सत्ता, शहीद भएपछि नगद पुरस्कारका लागि नभई केवल जनताको हक अधिकार, स्वतन्त्रता र प्रजातन्त्रका लागि आफ्नो ज्यानको आहुती दिएका छन् । यसमध्ये धनकुटा जिल्लाको तत्कालीन धारापानी गाउँमा जन्मेका प्रजालाल राई एक हुन् । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र प्राप्त भएकै दिनमा जन्मेका हुनाले उनका मातापिताले उनको नाम पनि प्रजालाल राखेका थिए । नामजस्तै प्रजालाल राई माता, पिता, श्रीमती तथा छोरा नभनी प्रजातन्त्र पुनस्र्थापनाका लागि संघर्ष गर्दै आफ्नो जीवन उत्सर्ग गरे ।

शहीद राई जवान भएपछि फुस्रेस्थित तत्कालीन शाही नेपाली सेनामा भर्ना भएका थिए । त्यस समयमा पञ्चायती तानाशाह व्यवस्थाविरुद्ध नृपाली कांग्रेसले सशस्त्र आन्दोलन गरिरहेका थिए । यि नेपाली कांग्रेसका क्रान्तिकारी योद्धाहरुलाई सैनिक क्याम्पमा ल्याएर राख्ने गर्दथे । ती योद्धाहरुलाई तत्कालीन शाही नेपाली सेनाका हाकिमहरुले उनलाई पनि क्रुर तथा अमानवीय यातना दिन निर्देशन दिने गर्थे । उनले पनि नचाहदाँ नचाहदै सो कार्यमा लाग्नु पर्ने बाध्यता थियो । यातना दिन नमान्दा हाकिमले उनलाई नै यातना दिने गर्दथे । यस्तो अवस्थाले पछि उनले सेनाको जागिर छोडेर फारविसगञ्जस्थित नेपाली कांग्रेसको सम्पर्कमा पुगे ।

त्यस समय अर्का होनहार क्रान्तिकारी जो नेपाली सेनाको अधिकृत पद त्यागी आएका धनकुटा घर भई ओखलढुङ्गा बसाई सरेका क्या. यज्ञबहादुर थापाको सैनिक कमाण्ड र राम लक्ष्मण दाजुभाईको राजनीतिक कमाण्डमा ओखलढुंगा आक्रमण गर्ने योजना बनिरहेको थियो । यस्तो अवस्थामा सेनाबाट आएको होनहार योद्धा राईलाई पनि सो टोलीमा सहभागी गराई आवश्यक हातहतियारका साथ आक्रमणका लागि पठाईयो । त्यससमयमा क्रान्तिकारी सेनाले आक्रमण गर्नासाथ प्रजातन्त्रवादी समर्थक रहेका त्यहाँका सेनाप्रमुखले सेनालाई आत्मसमर्पण गराउने एक प्रकारले सहमतीसमेत बनि सकेको थियो । टोली ओखलढुंगा जाने क्रममा जनकपुर अञ्चलको कमलामाई नदीतिर आईपुगेपछि एकजना गद्दारले सहभागीले बहाना बनाई मेरो सानो काम प¥यो, तिमीहरु जादै गर्नु, म विस्तारै पछि आउ“छु भनेर छुट्टिए । उनी त्यहा“बाट सिधै जनकपुरस्थित अञ्चलाधीशको कार्यालयमा गएर अञ्चलाधीशलाई सबै कुराको जानकारी गराई दिए ।

त्यो जानकारी पाउनासाथ अञ्चलाधीश काठमाडौं गएर सबै कुरा सरकारलाई जानकारी गराई दिए । त्यसपछि लगत्तै सरकारले ओखलढुंगास्थित सेनाका प्रमुखलाई रातारात काठमाडौं झिकाए र नया“ सेनानीको कमाण्डमा थप फौज हेलीकप्टरबाट ओखलढुंगा पु¥याए ।
साथि वीच बाटोबाटै छुट्टिनु र पछिसम्म पनि सम्पर्क नआउँदा पनि योद्धाहरुले षडयन्त्र भएको गन्धसम्म नपाउनु दुर्भाग्य थियो योद्धाहरुका लागी । योद्धाहरु केहि दिनपछि नै ओखलढुंगा आफ्नो नियन्त्रणमा आउने दिवास्वप्नमा मग्न हुँदै बाटो लागे । जब ओखलढुंगाको नजिक पुग्दै गए, अचानक आकाशमा सेनाको हेलिकप्टर उडिरहेका देखे । पछि सेनाको अधिकृतसमेत रहेका क्या. यज्ञबहादुर थापाको मनमा चिसो पस्यो । र, उनले कमलामाईबाट गएको साथिले धोका दिएकोले तत्काल आक्रमणको योजनालाई स्थगित गरी फर्कनु पर्ने र अनुकुल समयमा आक्रमणका लागि आउनु पर्ने कुरा राजनीतिक कमाण्डर राम लक्ष्मणलगायतसँग राखे । तर, राजनीतिक कमाण्डरहरुले आफुहरु युद्धका लागि पेस्तोलबाट गोली छुटेजस्तो निस्किसकेकोले या तानाशाहका विरुद्ध विजय प्राप्त गर्ने या त वीरगति प्राप्त गर्ने भन्दै आक्रमण गर्नेु पर्ने तर्क राखे ।

त्यसमय ओखलढुंगाको टिम्वुरबोटे भन्ने ठाउँको ओडारमा उनीहरु रहेका थिए । उनीहरुले चाहेको भए भाग्ने समय प्रशस्त थियो । मंसिरको अन्तिमतिर जाडो मौसम थियो । आकाशमा बादल पर्याप्त मात्रामा लाग्नाले हेलिकप्टरबाट भुईमा रहेका योद्धाहरुलाई देख्ने सम्भावना पनि न्युन थियो । विवादका वीच पनि दुई दिन जति कुरे । शाहीसेनामा रहेका आफ्ना पक्षका जासुसहरुबाट कुनै सकारात्मक सूचना आउँछकि भनेर आश गरेर बसे । सूचना प्राप्त हुनासाथ आक्रमण गर्ने योजनासाथ हातहतियारसहित उनीहरु तयारी का बसेका थिए । त्यो नै देशका होनहार योद्धाहरुका लागि दुर्भाग्य बन्न पुग्यो । भोलीपल्ट अर्थात प्रजातन्त्र खोसिएको दिन पुष १ गते सेनामा रहेका जासुसबाट कुनै सकारात्मक सूचना होईन बरु शाही सेनाबाट अचानक ओडारमा बमगोलाका साथ आक्रमण हुन पुग्यो । त्यही आक्रमणमा धनकुटाका वीरयोद्धा प्रजालाल राईका साथै राजनीतिक कमाण्डर राम लक्ष्मणलगायतका योद्धाहरुले शहादत प्राप्त गरे ।

क्या. थापा घाईते अवस्थामा नै भएपनि त्यहाँबाट भाग्न सफल भए । तर, केहि दिन पछि नै सेनाले ओखलढुंगाको चप्पाचप्पा छान मारेर उनलाई उनका  एकजना पुरेतका घरबाट पक्राउ गरे । पछि उनलाई धनकुटाकै अर्का शहीद भीमनारायण श्रेष्ठसँगै लामो समय कठोरतापूर्ण बन्दी बनाई २०३५ साल माघ २६ गते मृत्यूदण्ड दिएका थिए ।

आज यस्ता वीर शहीदहरुको योगदानकै कारण देशमा प्रजातन्त्र हुँदै गणतन्त्र आईसकेको छ । हालै केहि शहीदहरुलाई नेपाल सरकारले शहीदको सम्मान गरेका छन् । तर, लोकतन्त्रका लागि ज्यान आहुती दिने सबै शहीदहरुको सम्मान भएको पाईदैन । यसरी सम्माननपाउने शहीदहरुमा प्रजालाल राईलगायत धनकुटाका अर्का शहीद रामकृष्ण श्रेष्ठ, नारायण नोगु, चैनपुरे कान्छाका साथै छिन्ताङ हत्याकाण्डमा शहादत प्राप्त शहीदहरुको राष्ट्रले शहीद घोषणा गर्न सकेको छैन ।

गणतान्त्रिक सरकार लोकतन्त्रकै लागि ज्यानको बलिदान दिने यि महान शहीदहरुलाई मान्यता दिन नसक्नु सरकारको नालायकी तथा निर्लज्जपन हो । यि महान शहीदहरुका छोरा छोरीहरु कहाँ कहाँ, कुन अवस्थामा छन् ? खोजी गर्नु पर्छ कि पर्दैन गणतान्त्रिक सरकारले ? खोजी गरी उनीहरुको लालनपोषण तथा जीवनयापनको व्यवस्था राज्यले गर्न ध्यान दिनु पर्छ र यसतर्फ सरकारको ध्यान जाओस् ।