काँक्रो बेचेर मासिक एक लाख कमाई

Published On: In Category: कृषि विशेष
काँक्रो बेचेर मासिक एक लाख कमाई

अषाढ २, धनकुटा / डेढ रोपनी जमिनमा लगाएको काँक्रो बेचर धनकुटाका एक यूवा किसानले मासिक एक लाख कमाउने गरेका छन् ।

आफ्नो बारीमा लगाएको दुई सय ५० बोटमा फलेको काँक्रो बचेर धनकुटा चीरगाउँ ११ का ३२ बर्षिया रामकुमार राईले मासिक एक लाख देखि एक लाख ८० हजार सम्म कमाएका हुन् ।

उनले हप्तामा ५ सय के.जी.सम्म काँक्रो उत्पादन गरेर अफ सिजनमा प्रति के.जी.एक सय २० सम्म र सिजनमा ४० रुपैयाँ सम्म बेच्ने गरेका छन् ।

५ बर्ष कतार बस्दा मासिक १५ हजारको कमाईले परिवार पाल्न गाह्रो भएपछि गएको तीन बर्ष देखि आफू काँक्रो खेतीमा लागेको उनेले बताए ।

‘बिदेशले परिवार पाल्न नसकेपछि यता लागे’, उनले भने ,‘अहिले पाँच जनाको परिवार मजाले पाल्न पुगेको छ ।’

स्थानिय जातको बीउ आफैंले उत्पादन गरेर उनले चैत देखि असार सम्म र असार देखि कार्तिक सम्म बर्षको दुई सिजन काँक्रो उत्पादन गरेर बेच्ने गरेका छन्  ।

खेतीगर्नलाई कुनै लगानी नभएपनि बाटो खराब भएर गाडि नचल्ने भएकाले साप्ताहिक चार देखि पाँच जना व्यक्तिलाई जनही रु पाँच सय दिएर दुई घण्टा लगाएर धनकुटा बजार लगेर बेच्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । ‘मेहनत गरे पुग्छ’,उनले भने, ‘आउने बर्ष  दोब्बर रोप्छु ।’