धनकुटा प्रदेश नं. १ को राजधानीमा यसकारण उपयुक्त

Published On: In Category: विचार / लेख
धनकुटा प्रदेश नं. १ को राजधानीमा यसकारण उपयुक्त

राजेश्वबहादुर श्रेष्ठ /

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । सबैभन्दा पेचिलो बनेको संघीय प्रदेशको सीमांकन पनि लगभग पुरा भएको छ । अब भोलीका दिनमा प्रादेशिक राजधानी कहाँ बनाउने भन्नेमा अर्को आन्दोलन हुने पनि निश्चित छ । यस्तो अवस्थामा प्रदेश नं. १ को राजधानी विवादरहित तवरले निर्धारण गर्ने होभने निर्विकल्प रुपमा धनकुटालाई बनाउनु पर्छ । धनकुटा नै किन राजधानी भन्ने वारेमा निम्न कारणहरु छन् ।

पहिलोः

धनकुटा पूर्वाञ्चल विकास क्षेत्र तथा हाल प्रस्ताविक प्रदेश नं. १ को मध्य भागमा अवस्थित छ । धनकुटा परापूर्वकालमा पनि पूर्वकै प्रमुख प्रशासनिक तथा न्यायिक केन्द्र गौडाका रुपमा स्थापित भएको थियो । पछि पञ्चायती शासनकालमा वि.सं.२०२९ सालमा देशलाई विकेन्द्रिकरण गर्ने अवधारणा अनुरुप ( पहिले ४ र पछि २०३१ सालमा ५) विकास केन्द्रमा विभाजन गर्दा पूर्वाञ्चल विकास क्षेत्रको प्रमुख प्रशासनिक केन्द्रका रुपमा नै मान्यता दिईएको थियो । यसलाई २०४६ सालको आन्दोलनबाट प्राप्त प्रजातन्त्र पछि पनि मान्यता दिदै आएको छ । धनकुटा पहिलेदेखि नै प्रमुख प्रशासनिक केन्द्रमा रहदै आएकोले राजधानी बनाउँदा कुनै विवाद हुदैन ।

पहिलेदेखि नै प्रमुख प्रशासनिक तथा न्यायिक केन्द्रका रुपमा स्वीकार गर्दै आएकोले सबैलाई मान्य पनि हुन्छ ।
धनकुटालाई राजधानी नबनाई तराई मधेशका कुनै शहरलाई राजधानीका रुपमा प्रस्ताव गर्दा कुन ठाउँलाई बनाउने भनेर चर्को विवाद उत्पन्न हुन्छ । केहि वर्ष अघि सरकारले वजेट भाषणमा सुनसरीमा रंगशाला बनाउने निर्णय ग¥यो । र, कुन ठाउँमा बनाउने भन्ने विषयलाई लिएर सुनसरीका सदरमुकाम इनरुवा, पुरानो शहर धरान र उदाउँदो शहर इटहरीवीच चर्को रुपमा विवाद भयो । विवादले आन्दोलनको रुप लियो । धेरै धनसम्पत्तिको क्षति पनि गर्‍यो । आखिरमा कुनै एक स्थानमा बनाउन निर्ण गर्न नसकि सरकार निरिह र लाचार बनि तीन वटै ठाउँमा बनाउने निर्णय गर्दै दामासाहीले रकम वितरण गरियो । जुन हालसम्म पनि सरकारले सोचेजस्तो बन्न सकेन । र ,आगामी दिनमा पनि बन्न सक्ने सम्भावना देखिदैन । एउटा सानो रंगशाला बनाउने विषयमा सुनसरीमा भएको आन्दोलनलाई मध्यनजर गर्ने होभने तराईमधेशका कुनै एक स्थानलाई राजधानी बनाउने घोषणा गरिए कस्तो र कत्रो आन्दोलन हुने छ, त्यो दिमाग हुने जोसुकैले पनि सहजै अनुमान गर्न सक्छ । सोचविचार र अध्ययन नगरी संघीय प्रदेशको सीमांकन गर्दा भएको आन्दोलनलाई मनन गर्नु पनि वर्तमान समयमा आवश्यक छ । यहि राजधानी बनाउने विषयले प्रदेश नं.१ को अर्थतन्त्र तथा जनजीवन संघीय सीमांकनका विषयमा तराई मधेशमा भएको आन्दोलनको अर्को रुप हुने निश्चित छ । धनकुटाबाहेक अन्य स्थानमा राजधानी बनाउने निर्णय भए, लामो समय भएको मधेश आन्दोलनले थला पारेको यस क्षेत्रकोे अर्थतन्त्र तथा जनजीवनलाई फेरी लामो समय सास्ती थपिने अनुमान सहजै गर्न सकिन्छ ।     

Dhankuta Bazzar

दोस्रोः

धनकुटा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र तथा हालका प्रदेश नं. १ अन्तर्गत पर्ने हिमाल, पहाड र तराईको मध्यभागमा पर्दछ । अर्को शब्दमा भन्ने होभने हिमाल, पहाड र तराईको संगम स्थल हो, धनकुटा । यसका अलावा यसको विशेषता भनेको यहाँको मौसम हो । यहाँ हिमाली क्षेत्रजस्तो न धेरै जाडो छ, न त तराई मधेशको जस्तो धेरै गर्मी नै छ । यहाँको तापक्रममा धेरै अन्तर पनि रहन्न । जुनसुकै महिनामा पनि यहाँ आउदाँ सबै क्षेत्रका नागरिकहरुलाई सहज नै पर्छ । जाडो मौसममा हिमाली क्षेत्रका प्रायः स्थायी बासिन्दा बेसीतिर ओर्लन्छ भने गर्मीको मौसममा तराईतिरका धनिमानी स्थायी बासिन्दाहरु पनि राजधानी उपत्यकातिर बस्ने गरेको पाईन्छ । तर, धनकुटामा गर्मी मौसममा हिमाली क्षेत्रका नागरिकहरु सहजै रहन बस्न सक्छ भने जाडो मौसममा पनि तराई मधेशका नागरिकहरु । अर्को कुरा जाडो मौसममा हिमाली क्षेत्रमा मात्र नभई तराई मधेशमा पनि लामो समयसम्म पनि शितलहर चल्छ । त्यस्तो समयमा पनि धनकुटामा भने मजाले घाम लागिरहेकै हुन्छ । यदि गर्मी मौसममा हिमाली क्षेत्रका नागरिकलाई तराईमा जान परे होस् वा जाडो मौसममा तराई मधेशका नागरिकलाई हिमाली क्षेत्रमा जान परे, केहि दिन पनि टिक्न समस्या पर्ने सहज अनुमान गर्न सकिन्छ । धनकुटामा त्यस्तो कुनै समस्या हुदैन । राजधानी भएको ठाउँमा प्रदेशका हरेक क्षेत्रका नागरिकहरु कुनैपनि मौसममा आउनु पर्ने हुनसक्छ । त्यसैले धनकुटालाई राजधानी बनाए, काम विशेषले राजधानी आउने नागरिकलाई मौसमका कारण सजाय मान्ने छैन ।

तेस्रोः

मौसमको दृष्टिकोणले मात्र नभएर आवतजावत गर्नका लागि पनि उपयुक्त छ, धनकुटा । यस प्रदेशका सबै जिल्ला, गाउँ र क्षेत्रका नागरिकहरुका लागि धनकुटा आउन जान सुगम, सहज र उपयुक्त ठाउँ हो । अहिले सबैको चासो रहेको किमाथांका–विराटनगरको दुई देश जोड्ने सडक निर्माण भए, धनकुटा केन्द्रमा नै पर्छ । यसैगरी हाल निर्माणाधीन मध्यपहाडी लोकमार्गको निर्माण कार्य सम्पन्न भए प्रदेशका सबै तराई तथा पहाडी जिल्लाको प्रमुख केन्द्र धनकुटा नै हुने छ । चाहेँ टाढा मानिएको पश्चिमको सोलुखुम्बु, खोटाङ, उदयपुर वा ओखलढुंगा होस् वा पूर्वको इलाम, ताप्लेजुङ वा पाँचथर । तराईको झापा, मोरङ र सुनसरी त अहिले पनि आवतजावतका लागि धनकुटा सहज नै छ । यसैगरी निर्माणको तयारीमा रहेको तमोर कोरिडोरले प्रदेशको टाढा भनिएको ताप्लेजुङबाट धनकुटा आउन केवल ८० किलोमिटर पर्दछ । भोलीका दिनमा सबै जिल्लाहरुमा पक्कि सडक मार्ग निर्माण हुने निश्चित छ । त्यस्तो अवस्थामा प्रदेशका सबै जिल्लाहरुबाट धनकुटा आएर काम सकेर त्यहि दिन सजिलै आफ्नो घर फर्कन सकिन्छ ।
 

चौथोः

धनकुटालाई राजधानी बनाएमा राज्यले गर्नु पर्ने ठूलो धनराशीको पनि बचत हुनजान्छ । वर्तमान अवस्थामा केन्द्रले आफ्नो केन्द्रिय संसद भवनसमेत बनाउन नसकिरहेको अवस्थामा संघीय राजधानीका लागि ठूलो धनराशी खर्च गर्न विदेशीका सामू भिख माग्नु पर्ने अवस्था आउँछ । राजधानीका लागि प्रसस्त जग्गा आवश्यक पर्छ । यसरी आवश्यक पर्ने जग्गा अधिकरणका लागि ठूलो धनराशी खर्च गर्ने सामर्थ राज्यसँग छैन । धनकुटा नगरपालिका क्षेत्रमा मात्र ६ हजार रोपनीभन्दा बढी जग्गा सरकारको नाममा छ । यसबाहेक हजारौ रोपनी ऐलानी जग्गाहरु छन् । प्रसस्त बन क्षेत्र पनि छन् । राजधानीकै लागि भनेर जग्गा अधिकरण गर्नु पर्ने अवस्था छैन । यदि राजधानी प्रस्ताव गरिएर जग्गा अधिकरण गर्न खाजे १० लाख प्रति कटठा पर्ने जग्गाको मूल्य रातारात करोडौं तोकिने छ । सरकारले त्यति मूल्य तिरेर जग्गा अधिकरण गर्न सक्ने अवस्था छ र ?

यस्तै सरकारी कार्यालयहरुका लागि भनेर सयौ रोपनी जग्गा पञ्चायत शासनकालमा नै अधिकरण गरिसकेको छ । त्यहि समयमा नेपाली सेनाको बाहिनी अड्डा, गण, क्षेत्रीय प्रहरी कार्यालय, क्षेत्री अस्पताल, पर्यटन विकासका लागि भनेर सयौ रोपनी जग्गा लिईसकेको छ । प्रायः क्षेत्रीय तथा जिल्लास्तरीय सबै सरकारी कार्यालयहरुको आफ्नै पक्की भवन छ । प्रदेश गठनपछि क्षेत्रीय कार्यालयको औचित्य समाप्त हुन्छ । त्यसैले क्षेत्रीय कार्यालयका भवनमा तला थपेमात्र पनि संघीय मन्त्रालयहरु सजिलै राख्न सकिन्छ ।

पाचौंः

सरकारको नीति सबै क्षेत्रको समानुपातिक विकास गर्ने  हो । धनकुटालाई राजधानी बनाएमा यो नीतिले सार्थकता पनि पाउँछ । सरकारलाई केन्द्रिकृत नीति अख्तियार गरेको आरोप छ । तर, पूर्वाञ्चल विकास क्षेत्र पहिले पनि विकेन्द्रित थियो र भोली पनि हुने छ । किनकि भौगोलिकताका कारण पनि धनकुटामा केन्द्रिकृत अवधारण अवलम्वन गर्न सकिन्न । धनकुटा राजधानी भएपनि शैक्षिक, औद्योगिक, व्यापारिक, पर्यटन, स्वास्थ्य केन्द्र विभिन्न शहरहरु नै रहन्छ । धनकुटालाई राजधानी बनाएमा मधेशका काकटभिट्टा, दमक, बिर्तामोड, उर्लावारी होस् वा विराटनगर, इटहरी, धरान र उदयपुर कै, विकास र विस्तारमा कुनै फरक पर्दैन । बरु ताप्लेजुङ, इलाम, पाँचथर, ते¥हथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङको विकासमा थप मद्दत पुग्नेछ । यसले हिमाल र तराईलाई एकजुट बनाउन पनि सहयोग पुग्दछ ।

धनकुटालाई राजधानी बनाए हिमाली तथा पहाडि क्षेत्रबाट मधेशमा हुने बसाईसराईको लर्को केहि हदसम्म भएपनि नियन्त्रणमा आउने छ । अहिले मधेशमा भएको अत्यधिक बसाईसराईका कारण पहाड, हिमाल उजाड मानवरहित गाउँ बन्दै छभने मधेश जनसंख्याको चाप थेग्नै नसक्ने अस्थामा पुगेको छ । चुरेको जंगल विनाशको संघारमा पुगेको छ । अत्यधिक घर निर्माणले अन्नको भण्डार मानिएको मधेशका उब्जाउ भूमि घडेरीका लागि अत्यधिक रुपमा प्लटिङ गरिदै छ । यस्तो अवस्था यदि राजधानी पनि यहि क्षेत्रमा बनाउने होभने अहिले बाँकी रहेको सीमित उब्जाउ जमिन पनि पुरै नासिई हरियाली भनिने तराई कंक्रीट जंगलमा परिणत हुनेछ । अर्कोतिर हिमाली र पहाडी क्षेत्र मानवविहीन अवस्थामा पुग्ने छ । अहिले पनि कोहि विरामी परे अस्पताल लान युवा पाउन मुस्किल छ । खेतीपातीका लागि त्यस्तै समस्या छ । खेतीयोग्य जमिनहरु बाँझैछन् । यातायात तथा पूर्वाधार विकासको अभावमा रमणीय पर्यटकीय स्थानहरु भर्जिन नै छन् । काठमाडौंको नजर यि क्षेत्रहरुमा नपर्दा यस्ता समस्या आएका हुन् । धनकुटा राजधानी भए, नजिक पर्ने यस्ता दृश्यावलोकन गर्न सकिने स्थानहरुको पनि विकास स्वतः रुपमा हुन्छ । उदाहरणका लागि नगरोटलाई लिन सकिन्छ । काठमाडौं नजिक भएकैले आज नगरकोट प्रमुख पर्यटकीय केन्द्र बनेको हो । यदि धनकुटा राजधानी बनेमा छिन्ताङको छिन्ताङदेवी, खोटाङको हलेसी महादेव, ताप्लेजुङका पाथीभरालगायतका धार्मिकस्थलहरु धार्मिक पर्यटनका रुपमा विकास हुने छ । यसैगरी गुफापोखरी, राजारानी ताल, गुरासको राजधानी तीनजुरे क्षेत्र, ह्यार्तुङ झर्नालगायत ओझेलमा परेका पर्यटकीय स्थलको विकास हुने सम्भावना रहन्छ । यसरी यि क्षेत्रको विकास भए हिमाली तथा पहाडी क्षेत्रमै व्यवसाय र रोजगारको अवसर सृजना हुन्छ र मधेशमा हुने बसाईसराई नियन्त्रण हुनजान्छ । यसबाट तराईमा हुनसक्ने चुरे विनाशको नियन्त्रण भई उब्जाउ जमिनको बचाउ हुने छ भने हिमाली पहाडी क्षेत्रमा मानव वस्तीको विकास हुने छ ।

यि र यस्ता विभिन्न कारणले पनि प्रदेश नं. १ को राजधानी धनकुटालाई नै बनाउनु उपयुक्त हुन्छ । यसका साथै धनकटालाई राजधानी बनाउने होभने अहिलेदेखि नै केहि कुराहरुलाई नियन्त्रण गर्नु पर्छ । पहिलो कुरा सडक चौडा बनाउन जथाभावी घर बनाउन दिनु हुन्न । राजधानी भएमा जथाभावी रुपमा सुकुम्वासी वस्ती बस्न सक्छ । त्यसका लागि अहिले नै रोक्नु पर्छ । पछि बाग्मती किनारको समस्या दोहोरिन सक्छ । यस्ता काठमाडौंले भोगेका विभिन्न समस्याहरु आईलाग्न सक्छ । त्यसलाई समयमा नै योजना बनाएर लग्नु नै बुद्धिमता हुन्छ ।

लेखकः धनकुटाबाट प्रकाशित धनकुटा साप्ताहिकका सम्पादक/प्रकाशक हुनुहुन्छ ।