टेलिकमको बिकल्प खोज्दै धनकुटाका ईन्टरनेट प्रयोगकर्ता

Published On: In Category: विज्ञान - प्रविधि
टेलिकमको बिकल्प खोज्दै धनकुटाका ईन्टरनेट प्रयोगकर्ता

धनकुटा / नेपाल टेलिकमबाट लिएको एडिएसएल ईन्टरनेट ढिलो चलेर हैरान भएपछि धनकुटाका प्रयोगकर्ताहरुले बिकल्पमा अन्य ईन्टरनेट कम्पनी रोज्न थालेका छन् ।

डाटा अनुसार नेट नचल्ने, भिडियो लगायतका ठूला फाईलहरु ईमेल नहुने, छिन–छिनमा सेवा अवरुद्ध हुने लगायतका अनगिन्ति समस्याहरु देखापरेछि प्रयोगकर्ताहरु बिकल्पमा अन्य ईन्टरनेट कम्पिनीहरुबाट सेवा लिन थालेका हुन्  ।

टेलिकमको सेवा निजि ईन्टरनेट सेवा भन्दा महंगो र ढिलो चल्ने भएकाले आफूहरुले त्यसको बिकल्प खोजेको प्रयोगकर्ताहरुले बताएका छन् ।
यसको सबैभन्दा धेरै असर सन्चार जगतलाई परेको छ । नेपाल टेलिकमको ५ सय १२ के.बि.पि.एस. क्षमताको एडिएसएल ईनटरनेट सेवाले सन्चारकर्मीहरुलाई समाचार पठाउन समस्या भएपछि पत्रकार महासंघ धनकुटाले अहिले  वर्डलिंक वाईफाई जोडेको अध्यक्ष खगेन्द्र घिमिरेले बताए । उनले भने–‘पटक–पटक ईन्टरनेट अबरोध भएर समाचार पठाउन पत्रकारहरुलाई समस्या भएपछि बिकल्प खोजिएको हो ।’ टेलिकमले उक्त समस्यालाई समाधान गर्न नसकेपछि बिकल्प खोजिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
त्यस्तै धनकुटा ७ का ईन्टेल कम्प्युटर सेन्टरका सन्चालक सूर्य रायमाझीले पनि १ सय ९२ के.बी.पि.एस.को एडिएसएल ढिलो चल्ने भएको कारण चार महिना अघि सुबीसु ईन्टरनेट जडान गरेको जानकारी दिए । नयां जडान गरेको ईन्टरनेट सेवा टेलिकमको भन्दा तुलनात्मक रुपमा सस्तो र छिटो नेट चल्ने उनले बताए ।
त्यस्तै धनकुटा ७ का सुरभी होटलका सन्चालक दिपक शाक्यले पटक–पटक एडिएसएलको क्षमता थप गर्दा पनि सय भन्दा स्पिड नबढेपछि सुबिसु जडान गरेको बताए । ‘टेलिकम गएर गुनासो गर्‍यो यस्तै हो मात्र भन्छन्’–उनले भने । समस्या राखेपनि टेलिकमले तत्कालिन चासो नदिने तर नीजि कम्पनिले तत्काल आएर बनाईदिने भएपछि आफूले अन्य सेवा लिएको उनले बताए ।

त्यस्तै माछापुच्छ्रे बैंक धनकुटाका शाखा प्रवन्धक भरत प्रसाई, होटल एशोसियसन भेडेटारका सचिव जितेन्द्र रुम्दिाली लगायत अधिकांस सेवाग्राहीहरुले टेलिकमको सेवा भरपर्दो नदेखिएकाले आफूहरुले अन्य ईन्टरनेट सेवा लिएको बताएका छन् ।
यस बिषयमा नेपाल टेलिकम धनकुटाका प्रमुख राकेश चौधरीलाई चासो राख्दा उनले नेपालले ईन्टरनेट सेवा प्रवाह गर्ने व्याण्डविड्थ  प्रणालीमा क्षमता भन्दा बढी भार भएका कारण सेवा ढिलो भएकोले आफूहरुले केहि गर्न नसक्ने जानकारी दिए । ’हामीले सकेको हर प्रयास गरेका छौ,’ उनले भने, ‘यो भन्दा छिटो सेवाको लागि प्रणालीको क्षमता थप गर्नु बिकल्प छैन ।’  बिकल्पका रुपमा चैत १ गतेबाट धनकुटा बजारको २७ किलोमिटर क्षेत्रमा पाईलोटिङ्ग कार्यक्रमका रुपमा अफ्टिकल फाईबर पद्दतीबाट ईन्टरनेट सेवा सन्चालनमा ल्याईएको छ । तर महसुल महंगो पर्ने भएकाले  उक्त सेवा केहि संघ-सस्थाहरुको प्रयोगका लागि मात्र सिमिति रहेको चौधरीले बताए ।
नेपाल टेलिकम धनकुटाले दिएको जानकारी अनुसार अहिले धनकुटामा मोवाईलबाट चलाउने रिम र सिम बाहेक संस्थागत रुपमा एडिएसएल ईन्टरनेट सेवा लिनेको संख्या चार सय १२ रहेको छ ।

 

Related Tag: Technology