सानोठिमीमा ग्रासरुट फेस्टिबल रौनकता

Published On: In Category: खेल / मनोरन्जन
सानोठिमीमा ग्रासरुट फेस्टिबल रौनकता

२ जेष्ठ, भक्तपुर / अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एएफसी ग्रासरुट फुटबल फेस्टिबलको आयोजना गरेको छ ।
एसियाली फुटबल महासंघले एसियाली महादेशको फुटबल तल्लो तहबाट विकास गर्ने उद्देश्यले प्रत्येक मे १५ मा एएफसी ग्रासरुट फुटबल डे आयोजना गर्ने गर्छ । त्यही दिनको अवसर पारेर एन्फाले पनि नेपालमा पनि प्रत्येक वर्ष ग्रासरुट फुटबल फेस्टिभल आयोजना गर्ने गर्छ । गत वर्ष एएफसी ग्रासरुट फुटबल डे एसियाका ३१ देशमा मानिएको थियो भने यो वर्ष ३७ देशमा मनाइएको छ ।
एसियाली फुटबल महासंघ एएफसीको ग्रासरुट फुटबल डे को अवसरमा एन्फाले आयोजना गरेको ग्रासरुट फुटबल फेस्टिबलमा १६ विद्यालयका १६० छात्रछात्राहरूको सहभागिता रहेको थियो । भक्तपुर सानोठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा एन्फाले आइतबार विभिन्न स्कुलका छात्रछात्राका लागि ग्रासरुट फुटबल फेस्टिबलको आयोजना गरेको थियो । प्रत्येक विद्यालयका टिममा १० खेलाडी सहभागी हुँदा ३ छात्रा अनिवार्य गरिएको थियो । फेस्टिबलमा १० देखि १३ वर्ष सम्मका उमेर समूहका छात्रछात्रा सहभागी थिए ।
फेस्टिबलमा सहभागी स्कुलका छात्रछात्रालाई फुटबलसम्बन्धी ज्ञान, खेल्ने कलालगायत फुटबलसम्बन्धी जानकारी गराइएको थियो । फेस्टिबलमा सहभागी छात्रछात्रालाई एएफसीका प्रशिक्षक भिन्सेन्ट सुब्रामनिम, एन्फाका ग्रासरुट प्रशिक्षक डिरेक्टर ऊपेन्द्रमान सिंहले फुटबलसम्बन्धी प्रशिक्षण दिएका थिए । एन्फाले सहभागी स्कुललाई एएफसीबाट आएको फुटबलका खेल सामग्रीहरू प्रदान गरेको थियो ।

 

Related Tag: Bhaktapur Sports