गाईघाट–बुइपा ३३ केभी विद्युत्प्रसारण सञ्चालनमा

Published On: In Category: विविध समाचार

खोटाङ, ३१ वैशाख । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको गाईघाट–बुइपा ३३ केभी विद्युत् प्रसारणलाइन सञ्चालनमा आएको छ । ११ केभी क्षमताको विद्युत् प्रसारण हुँदै आएको जिल्लामा सोही लाइनलाई ‘अपग्रेड’ गरेर ३३ केभी सञ्चालनमा ल्याइएको हो ।  बुधबार मात्रै अपगे्रडको काम सकिएको ३३ केभी प्रसारण लाइन बुइपामा रहेको सब–स्टेसन चार्ज गरेर बिहीबारबाट सञ्चालनमा ल्याइएको आयोजना प्रमुख चन्द्रवीर खड्काले जानकारी दिनुभयो ।  
जिल्लामा ३३ केभी विद्युत् प्रसारण लाइन सञ्चालन भएपछि कम भोल्टेजको समस्या समाधान भएको छ । यसअघि कम भोल्टेजका कारण जिल्लामा सञ्चालित विद्युत्बाट ठूला काम गर्न सकिने अवस्था थिएन । बाह्र वर्षअघिदेखि ३३ केभी प्रसारण गर्ने तयारी गरिएपनि बुइपास्थित सब–स्टेसन चार्ज नहुने, तार चुँडिने, ट्रान्सफर्मर पड्कने जस्ता समस्याले सञ्चालनमा आउन सकेको थिएन । विसं २०६१ सालदेखि ११ केभीलाई ३३ केभीमा अपग्रेड गर्ने काम सुरु गरिएको भए पनि हरेक वर्ष आयोजनाले विभिन्न बहाना देखाउँदै सञ्चालनमा ल्याउन सकेको थिएन । केही वर्षदेखि तीव्रगतिमा अपग्रेडको काम थालेको आयोजनाले गतवर्ष सब–स्टेसन चार्ज गर्ने काम भए पनि अधुरै रहेको थियो ।
    उदयपुरको जलजलेबाट खोटाङको बुइपासम्म ६९ किलोमिटर लामो विद्युत् लाइन विसं २०५७ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो । सोह्र वर्षदेखि केन्द्रीय विद्युत् प्रसारण भएको खोटाङमा अहिले जिल्लाका ३८ गाविसमा विस्तार गरिएको छ ।

 

Related Tag: Udayapur